उखु उद्योगले वर्षैँदेखि उखुको पैसा नदिँदा मारमा परेका किसान अहिले माइतीघर मण्डलामा आन्दोलनरत छन् । उनीहरू राति नैकाप स्थित टिनले बारेको अत्यन्त दयनीय टहरामा बस्छन् भने चिसोले गर्दा उमेरले ६० कटेका उनीहरू बिरामी पर्न थालेका छन् ।
किसान सङ्घर्ष समितिका सचिव हरिश्याम रायका अनुसार पैसा लिन काठमाडौँ आएका उखु किसानमध्ये २० जनाजति बिरामी भएर घर फर्किसकेका छन् ।
अन्नपूर्ण सुगर इन्डस्ट्री पीडित छन् हाल काठमाडौँ आएका किसानमध्ये धरै किसान । अन्नपूर्णले मात्र किसानलाई ५० करोड रुपैयाँ तिर्न बाँकी छ भने सबै चिनी उद्योग गरेर किसानको बक्यौता रकम १ अर्व, ४१ करोड ८१ लाख छ।

ती किसानका अनुसार काठमाडौँको चिसो र ३६ प्रतिशत ब्याजले निद्रा हराएको छ । उपचार खर्च त परै जाओस् घर फर्कने पैसा समेत उनीहरूसँग छैन ।
अनुदानसमेत किसानले लामो समयदेखि पाउन सकेका छैनन्। सरकारले दिने अनुदान बापतको १ अर्व ३४ करोड पनि किसानले पाएका छैनन्। सरकार र उद्योगीको गरी किसानले २ अर्व ७५ करोड ८१ लाख पाउन बाँकी छ।
उखुको पैसा त खाए खाए । सरकारले दिएको अनुदान पनि उद्योगीले क्वाप्लक्कै खाएको किसानको गुनासो छ।
ती किसान तीन वर्षदेखि चिनी उद्योगीले भुक्तानी नदिएपछि पुसे ठिहिरोमा माइतीघरमा धर्ना बस्न अभिशप्त छन् । साहूको ऋणको पीडाले थलिएर गुहार माग्न सिंहदरबार आइपुगेका हुन् उनीहरू।
ऋण काढेर उखु लगाएका थिए, ऋण नै काढेर उखु काटे, खुर्किए । सयकडा ३० ब्याज काढेर ऋण लिएर गाडी भाडा तिरेर मिलसम्म पुर्याए । उद्योगी भनाउँदा साहूले भोलि पर्सि भन्दै टार्न थाले । उखुको भुक्तानी नै दिएनन् ।
अघिल्लो वर्षको भुक्तानी पाउने आसमा ती किसानले २०७३, २०७४ र २०७५ साल गरी लगातार तीन वर्ष उद्योगीलाई उखु सुम्पिए । तर अहँ, भुक्तानी पाएनन् ।
दस नङ्ग्रा खियाएर, रगत पसिना बगाएर र रातदिन एकै बनाएर उत्पादन गरेको उखुको भुक्तानी तीन वर्षदेखि नपाउँदा ती किसानहरूको बिल्लिबाठ भएको छ ।

बिचरा ती किसानहरूको एकातिर ऋणको ब्याज बढ्दो छ । अर्कोतिर यो तुषारे हिउँद कटाउनु छ, शीतलहरको त्रासदी छिचोल्नु छ, बालबच्चालाई ठिहीबाट जोगाउनु छ र पनि, मन ठन्डीले भन्दा ज्यादा ऋणको पीडाले खाएको छ ।
तर, तीन वर्षदेखि तीन लाखभन्दा बढी भुक्तानी साहूले खाइदिँदा ती किसानका परिवार उठ्नै नसक्ने गरी थलिएको छ, उनीहरू सडकमा आइपुगेका छन् ।
उनीहरू बिलौना गर्छन्, “ज्याला मजदुरी गरेर पेट पाल्ने गरिब, निमुखा परिवार तीन लाख डुब्दा के हाल होला? तपाईँ नै अनुमान गर्नुस्,” ।
सुविधा सम्पन्न घरमा बस्नेहरूलाई त चिसोले यति सारो पारेको छ भने नाम मात्रको कपडा ओढेर चिसो टिनको टहरामा बस्न बाध्य उखु उद्योगीहरूबाट ठगिएका बिचरा ती गरिब किसानको हालत के होला!
यस्ता जघन्य सामाजिक ठगीमा संलग्न उखु उद्योगीहरूलाई तुरुन्त कारबाहीको दायरामा लेऊ सरकार । यी गरिब, दुःखी र अति पीडित किसानको आँसु पुछ सरकार ।
यो पनि पढ्नुहोस्ः
उखुको पैसा नपाए धर्ना स्थलमै मर्छौँ – उखु किसान
दश दिनभित्र उखुको मूल्य नतिरे उखु उद्योगको सम्पत्ति जफत गरेर तिरिने



