२०७६ पौष १७ बिहीवार
उखुको पैसा पाउन सङ्घर्षरत एक उखु किसान हरिश्याम रायले उखुको पैसा नपाए धर्ना स्थलमै मर्ने बताएका छन् । उखु किसानको जीवनले धान्न नसक्ने गरी चिनी मिलवालाले गरेको कठोर शोषणको परिणाम स्वरूप सिर्जित कटु अभिव्यक्ति हो यो ।
यतिखेर हिउँदको सबैभन्दा कठ्याङ्ग्रिने चिसोको बाबजुद आफ्नो पसिनाको कमाइ पाउन उखु किसान सडकमा छन् । किसानको उखुको मूल्य मात्रै होइन, सरकारले किसानका नाममा निकासा गरेको अनुदानको रकमसमेत चिनी उद्योगीहरूले खाइदिएका छन् । प्रति क्विन्टल उखुको ६५ रुपैयाँ २८ पैसा सरकारले किसानलाई अनुदान दिन्छ । तर, यो रकम सिधै किसानलाई नदिएर उद्योग मार्फत भुक्तानी गर्ने व्यवस्था सरकारले अघिल्लो वर्ष गरेको थियो । उखुको मूलधन नै नदिएका उद्योगले अनुदान समेत स्वाहा पारेका छन् ।

आर्थिक वर्ष ०७४र७५ मा सरकारले प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा किसानलाई अनुदान दिने निर्णय गरेको थियो । देशभर उत्पादन हुने दुई करोड क्विन्टल उखुका लागि छुट्ट्याएको एक अर्व २८ करोड रुपैयाँ अनुदान सरकारले सिधै किसानलाई नदिएर जिल्ला भुक्तानी समिति मार्फत उद्योगलाई दिएको थियो । सरकारले अनुदान सिधै किसानलाई दिनुको सट्टा उद्योगीलाई दिएकाले किसान ठगिएका हुन् ।
सबैभन्दा ज्यादा किसानलाई ठग्नेमा सर्लाही स्थित अन्नपूर्ण र महालक्ष्मी चिनी मिल रहेका छन् । दुवै मिलको महाप्रबन्धक भारतीय नागरिक केडी प्रसाद छन् ।
सरकारी अव्यवस्थाको फाइदा उठाएर हरेक क्षेत्रमा लुटतन्त्र मौलाएको छ ।
यी गरिब र निमुखा किसानका जिन्दगी लुट्ने ती चिनी मिलका मालिकलाई हर हालतमा कानुनी दायरामा ल्याएर कडाभन्दा कडा सजाय गरेर यी किसानका पसिनाको मूल्य फिर्ता गर सरकार। कृषि प्रधान देशमा कृषकहरूलाई उत्साहको वातावरण बनाऊ सरकार। यी किसानका पसिनाको मूल्य कुन तरिकाले हुन्छ त्यही तरिकाले तिर, नतिरे तिनका आँसुले अवश्य पिर्नेछ ।
यो पनि पढ्नुहोस्ः
उमेरले ६० कटेका उखु किसान प्रदर्शनको क्रममा ठिहीले बिरामी पर्न थाले
दश दिनभित्र उखुको मूल्य नतिरे उखु उद्योगको सम्पत्ति जफत गरेर तिरिने



