चितवन, पौष ११ । चितवनका किसान पछिल्लो समय तोरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट निस्किएका वन्यजन्तुले अन्य अन्नबालीमा भन्दा कम क्षति गर्ने भएपछि यहाँका किसान तोरीखेती गर्नतर्फ केन्द्रित भएका हुन् ।
माडी नगरपालिका–३ का ओमप्रकाश महतो बिगत पाँच वर्षदेखि तोरीखेती गर्दै आएका छन् । उनले यसभन्दा पहिला धान भित्र्याएपछि गहुँ र आलुखेती गर्दै आएका थिए । महतोले अहिले आफ्नो १० कट्ठा र भाडामा लिएको १० कट्ठा जग्गामा तोरीखेती गर्दै आएका छन् । उनले भने, “जङ्गली जनावारले तोरीबालीलाई कम क्षति गर्ने भएकाले यसमा जोड दिएका हौँ ।”