रिता केसीद्वारा बाल्यकालीन यातना र बेपत्ता प्रकरणमा न्यायको माग
काठमाडौँ । बाल्यकालमा आफूमाथि भएको अमानवीय व्यवहार, यातना र दिदीको बेपत्ताबारे न्यायको माग गर्दै रिता केसीले राष्ट्रिय प्रेस क्लब, बानेश्वरमा पत्रकार सम्मेलन गरिन्। पत्रकार सम्मेलनमा कानुनी सल्लाहकार अधिवक्ता राजेन्द्र शर्मा र साक्षीका रूपमा अवकाश प्राप्त प्रहरी मीन प्रसाद सिग्देलले पनि आफ्ना धारणा राखेका थिए।
पत्रकार सम्मेलनमा बोल्दै रिता केसीले आफू सानै उमेरमा अभिभावक गुमाएर राज्य र समाजकै संरक्षणमा पर्नुपर्ने बेला उल्टै शोषण र अन्यायको सिकार हुनुपरेको दर्दनाक कथा सार्वजनिक गरिन्। उनका अनुसार उनीहरू परिवारसँग सरकारी क्वाटरमा बस्दै आएका थिए। आफू पाँच वर्षको हुँदा बुबा–आमाको मृत्यु भएको कुरा सुनाइएको र त्यसपछि ‘मामा’ भनेर चिनाइएको एक व्यक्तिलाई तीन भाइबहिनीको जिम्मा दिइएको थियो।
“हामीमाथि राम्रो व्यवहार भएन। अनाथालय लगियो, यातना दिइयो,” रिताले भनिन्, “तर सबैभन्दा पीडादायी कुरा मेरी दिदीलाई नै गायब गरियो।” उनले आफ्नो दुःखद जीवनकथालाई तोडमोड गरेर प्रस्तुत गरिएको भन्दै गम्भीर आपत्ति जनाइन् र न्यायका लागि हारगुहार गरिरहेकी स्पष्ट पारिन्।
बालगृह सञ्चालकविरुद्ध उजुरीको अन्तिम तयारी
रिता केसीले आफू, दिदी सीता र भाइ प्रकाशको प्रकरणमा बालगृहका सबै सञ्चालक तथा घटनामा संलग्न अन्य व्यक्तिविरुद्ध पुरक जाहेरी दर्ता गर्ने अन्तिम तयारी भएको जानकारी दिइन्। उनका अनुसार २०४८ सालमा बालगृहमा यातना पाएपछि पाटन अस्पतालमा उपचार गराउँदा पीडितहरूले दिएको कथन र प्रमाणका आधारमा डा। निलम अधिकारीसमेतको प्रतिवेदनले बाल यौन दुर्व्यवहार, यातना, बेपत्ता पार्ने तथा विदेशमा बेचबिखन गर्ने गम्भीर अपराध भएको देखाएको छ।
उनले सरकारी स्वामित्वको बालमन्दिरमा जागिर खाँदै गुपचुप रूपमा निजी बालगृह सञ्चालन गर्ने, बालबालिकाको पहिचान लुकाएर अपराधीसँग मिलेमतो गरी ग्रेसहोम नामको बालगृहमा पठाउने र पछि आर्थिक अभावको बहानामा रकम असुल्ने बालगृह सञ्चालकविरुद्ध पनि कानुनी कारबाही अघि बढाइने बताइन्।
अधिवक्ता शर्माः संगठित अपराधमा ऋक्ष्द्य मा जाहेरी
कानुनी सल्लाहकार अधिवक्ता राजेन्द्र शर्माले बुवा–आमाको रहस्यमय हत्या पछि सानैमा घरबाट बेपत्ता पारिएकी रिता र उनका भाइ प्रकाशका बाल्यकालका साथीहरू फेला परेको जानकारी दिए। उनका अनुसार त्यस समयमा वर्दीधारी प्रहरीलाई नक्कली ‘मामा’ बनाएर प्रयोग गर्ने, बालबालिकाको पहिचान लुकाउन सहयोग गर्ने, सही ढंगले अनुसन्धान नगर्ने र सत्यको पक्षमा साक्षी बस्न नमान्ने केही व्यक्तिहरूको पहिचान खुलेको छ। तीमध्ये केही स्वदेशमै र केही विदेशमा रहेको सूचना प्राप्त भएको शर्माले बताए। अब यो प्रकरणलाई संगठित अपराधको रूपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दिने तयारी भइरहेको उनले स्पष्ट पारे।
साक्षी अवकाश प्राप्त प्रहरी मीन प्रसाद सिग्देलले आफ्नो सेवाकालमा देखेका र अहिले सार्वजनिक भएका तथ्यहरू अत्यन्तै संवेदनशील र पीडादायी रहेको भन्दै, राज्यले यस विषयलाई सामान्य रूपमा नलिन चेतावनी दिए। “बालबालिकामाथि भएको यस्तो अपराधमा मौन बस्नु भनेको अपराधलाई संरक्षण गर्नु हो,” उनले भने।




