काठमाडौँ, फागुन ५,शनिबार । हाल मुलुकले गम्भीर वित्तीय संकट ब्यहोरीरहेको छ । समग्र आर्थिक अवस्था नै दिन प्रतिदिन नाजुक बन्दै गईरहेको छ । व्यापार व्यवसाय चल्न नसकेपछि साना, मझौला व्यवसायीहरु आफ्नो व्यवसाय छाडेर विदेश तिर पलायन भइरहेका छन्। वित्तीय क्षेत्रमा देखिएको संकटको सबैभन्दा बढि असर यतिबेला सहकारी क्षेत्रमा देखिएको छ । करिब डेढ वर्षयता अधिकांश नेपालका सहकारीहरु आर्थिक संकटबाट गुज्रिरहेका छन् । सहकारीमा एक थरी सदस्यले बचत गरेका छन् । एक थरी सदस्यले ऋण लिएका छन् । तर ऋणीले साँवा, व्याज तिर्न नआउने, भाग्ने गरेका कारण सहकारीहरुमा असहज परिस्थिती सिर्जना भई गम्भीर आर्थिक संकट देखापरेको छ । सहकारीमा बचत आउने, ऋणको किस्ता, र व्याज आउने भएको भए सहकारी सन्चालन प्रकृया सहज हुन्थ्यो । तर ऋण लिएपछि पारिवारीक, आर्थिक, सामाजिक दायित्व भुलि ऋण नतिरी अटेर गर्ने, विदेश तिर भागेर परिवार समेत उतै लैजाने पवृत्ति बढेका कारण सहकारीहरु झन्-झन् आर्थिक रुपमा संकटग्रस्त बनिरहेका छन् ।
ऋण लिई नतिर्ने सन्दर्भमा काठमाण्डौँ, चावहिल ०७, चुच्चेपाटी स्थित साना वित्त विकास बहुउद्देश्यीय सहकारी संस्था लि. बाट वि. सं २०७६ साल भाद्र २२ गते बुढानिलकण्ठ नगरपालिका, कपन स्थायी बसोबास भएको ऋषभ देव चालिसेले संस्थाबाट ऋण लिई हालसम्म ऋण नतिरि अटेर गरी विदेशतिर भागेको पाईएको छ । काठमाडौँ, चावहिलमा अटोपार्ट व्यवसाय सन्चालन गर्ने भनि ऋण लिएको तर व्यवसायमा लगानि नगरी विदेश तर्फ पलायन भएको पाईएको हो । हाल श्रीमति सुनिता चालिसे, छोरा र छोरी सहित स-परिवार अमेरिकामा लुकीछिपी बसिरहेको कुरा संस्थाका एक सन्चालकले बताए ।
ऋण लिएर नतिर्ने बरु भाग्ने ऋषभ देव चालिसे जस्ता ऋणीका कारण हाल सहकारी संस्था आर्थिक संकटमा फस्न लागेको कुरा संस्थाका एक कर्मचारीले जानकारी गराए । सहकारीमा स-साना ठेलागाडामा व्यापार गर्ने, साना होटल व्यवसायी, लत्ता कपडा व्यवसायी,तरकारी फलफुल व्यवसायी,नाङ्लो पसल थापेर व्यापार गर्ने व्यवसायी,अपाङ्गहरु,दिन दु:खी बेसहाराहरुको बचत रहेको पाईएको छ । अहिले एकातर्फ सम्पुर्ण बचतकर्ताले आफ्नो जम्मा गरेको रकम खोजिरहेका छन् भने अर्को तर्फ दिन दु:खी बेसहाराहरुले बचत गरेको पैसाबाट ऋण लिई नतिरी आफ्नो घर मात्रै होईन देश नै छाडेर विदेश तर्फ भागिरहेका छन् । सहकारी संस्था भनेको राज्यको एक मजबुत खम्बा हो । राज्यको एउटा खम्बा तहसनहस भयो भने मुलुकमा गम्भीर आर्थिक संकट पैदा भई मुलुक नै एक असफल राष्ट्रको रुपमा परिणत हुनेछ । यदि सहकारीलाई सुधार गर्ने हो भने सर्वसाधारण जनताबाट जम्मा भएको बचतबाट ऋण लिएर नतिर्नेहरुलाई राज्यले सबैभन्दा पहिला कारबाहीको दायरामा ल्याउनुपर्छ । सहकारीबाट लगेको ऋण तिर्दिन भन्नेलाई राज्यको सम्पुर्ण सेवा सुविधा,सिफारीस बन्द गराउन सक्नुपर्दछ ।
सहकारीको ऋण नतिरी भागेर विदेश गएकाहरुलाई राज्यका निकायले सम्बन्धित देशको दुतावासमा पत्र लेखेर यस्ता फटाहा, बद्मासहरुलाई कुनैपनि हालतमा ऋण तिराउने विकल्प अगाडी बढाउनुपर्छ । राज्यले नेपाल प्रहरी मार्फत रेड नोटिस र डिफ्युजन नोटिसहरु जारी गरी विदेशी भुमिमा लुकिरहेकाहरुलाई पक्रेर ल्याई ऋण असुलउपर गराउनुपदर्छ । नेपाल प्रहरीले हालै मात्र अमेरिका,क्यानडा लगायतका मुलुकहरुबाट इन्टरपोलमार्फत ५२ जना भन्दा बढी फरार अभियुक्तहरुलाई पक्राउ गरी नेपाल ल्याइसकेको छ ।