युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

`

     २०८० मंसिर १५ गते ११:३९

काठमाडौँ, १५ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न संयुक्त अरब इमिरेट्स (युएई)का लगानीकर्तालाई आग्रह गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन (कोप-२८)मा सहभागी हुने क्रममा बिहीबार साँझ दुबईमा नेपाल–दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै उनले नेपालमा पुँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरे ।

युएईको उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्तरुपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिएका थिए ।

युएईका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएइ र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकारी एवं साझेदारी अपरिहार्य भएको धारणा राखे ।

दुबई उद्योग वाणिज्य सङ्घका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य सङ्घ र दुबई उद्योग वाणिज्य सङ्घबीच सहकार्य एवं सहयोग अभिवृद्धिका प्रशस्त क्षेत्र रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपाल र युएईबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा युएई र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा प्रतिष्ठित उद्यमी व्यवसायीको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?