चाडवाडको बेलामा समेत भुकम्पका कारण एउटै त्रिपालमुनि ११ परिवारको बास

`

     २०८० कार्तिक २६ गते ७:३७

जाजरकोट, आइतबार, २६ कात्तिक २०८०। चाडवाडको बेलामा समेत जाजरकोटका भूकम्पपीडितले त्रिपाल र स्थान अभावमा एउटै त्रिपाल मुनि ११ परिवार बस्नुपरेको अवस्था छ। जिल्ला सदरमुकाम खलंगास्थित कस्तुरी बोडिङ्ग स्कुलमा एउटै त्रिपालमुनि ११ परिवार सँगै सुत्ने गरेका छन्। भूकम्पले घर चिराचिरा पारेपछि त्रासले भेरी नगरपालिका ४ का ११ परिवार एउटै त्रिपालमुनि सुत्न बाध्य भएका हुन्।

जाजरकोट भेरी नगरपालिका ४ का शिला पुन घर्ती, लक्ष्मी गिरी, धनसरा राना, कल्पना राना, सरस्वती पुन, कल्पना खत्री, शिला पुन, अनिता खड्का, सन्देश घर्ती, राजेश खत्री र महेश सिंहको परिवार एउटै त्रिपालमुनि सुत्ने गरेको उनीहरूले बताएका छन्। एउटै परिवारका दुईदेखि ५ जनासम्मको परिवार छ।’सबै गरी ३३ जना एउटै पालमुनि सुत्ने गरेका छौं। स्थानीय शिला पुन घर्तीले भनिन घरमा बस्न सकिने अवस्था छैन। त्रिपाल दिएका छैनन्। प्रत्येकले अलग अलग त्रिपाल हाल्ने ठाउँ पनि छैन। त्यही भएर सामूहिक रूपमा त्रिपालमा सुत्ने गरेका छौं। खाना खान आ-आफ्नो घरमा जाने र सुत्न मात्र त्यहाँ आउने गरेका छन्,’ उनले भनिन्।

त्रिपालमुनि सँगै सुत्दा कतिपयका केटाकेटी रुने कराउने, कतिपयले घुर्ने लगायतका समस्याले निन्द्रा नै नलाग्ने उनको बताइन्। त्यहाँ बस्ने धेरैजसो भाडामा बस्नेहरू पनि छन्। भाडामा बस्नेलाई स्थानीय तहले राहत नदिएपछि उनीहरू कोच्चिएर एउटै त्रिपालमा बस्न बाध्य भएका हुन्। बोडिङ्गको आगनमा करीब १५ ओटा त्रिपाल र टेन्ट राखिएको छ। त्यहाँ करीव ५० बढी परिवारका दुई सय बढी बस्ने गरेका छन्। उक्त स्थानमा बसेका मध्य केही बालबालिकाहरू बिरामी परेका छन्। उनीहरूमा ज्वरो आउने, खोकी लाग्ने, निमोनिया लगायतका समस्या देखिएका छन्। सदरमुकाम भित्रकै यस ठाउँमा औषधोपचार र अन्य खानेकुरा लगायतका राहत सामग्री अभाव भएको कल्पना खत्रीले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?