काठमाडौँ, २० भदौ । नेपाली सेना र संयुक्तराज्य अमेरिकाको सेनाबीच नियमितरुपमा सञ्चालन हुँदै आएको ‘ज्वाइन्ट कम्बाइन्ड एक्सचेञ्ज ट्रेनिङ’को चालिसौँ संस्करण यही भदौ २४ गतेदेखि सुरु हुने भएको छ ।
आउँदो असोज १२ गतेसम्म काठमाडौँ उपत्यकामा हुने उक्त अभ्यास सञ्चालन हुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जानकारी दिएको छ ।
नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ गरी जम्मा ४२ जनाको सहभागिता रहने उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ ।
भदौ २४ गतेदेखि हुने अभ्यासमा सहभागिताका लागि संयुक्त राज्य अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्रीसहित भोलि अमेरिकी वायुसेनाको विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जनाइएको छ ।
यसैबीच संयुक्त अधिराज्यमा सञ्चालन हुने प्रतिस्पर्धात्मक एक्ससाइज कम्ब्रेइन पट्रोलमा सहभागी हुने नेपाली सेनाको १० सदस्यीय टोली आज प्रमुख सेनानी विवेकविक्रम शाहको कमाण्डमा बेलायततर्फ प्रस्थान गरेको पनि निर्देशनालयले जनाएको छ ।




