मानन्धर र नेपाललाई बालवाङ्मय पुरस्कार र सम्मान

`

     २०७९ मंसिर २६ गते ११:५५

काठमाडौँ, मंसिर २६ । वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धर र बाल कवि अनुज्ञा नेपाल बालवाङ्मय पुरस्कारबाट पुरस्कृत भएका छन् ।

बालवाङ्मय तथा अनुसन्धान केन्द्रले काठमाडौंमा आइतबार आयोजना गरेको समर्पण समारोहमा बालसाहित्यमा योगदानको कदर गर्दै मानन्धरलाई ‘साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान’ र नेपाललाई ‘राकुपा बालवाङ्मय बालप्रतिभा पुरस्कार’ प्रदान गरिएको हो । ‘साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान’ २५ हजार रुपैयाँ राशिको र ‘राकुपा बालवाङ्मय बालप्रतिभा पुरस्कार’ १० हजार रुपैयाँ राशिको रहेको छ । दुवै जनालाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यले सम्मानपत्र प्रदान गरेका थिए ।

साहित्य सृष्टि बालवाङ्मय साधना सम्मानका लागि साहित्यकार प्रमोद प्रधान, उनकी श्रीमती ब्यूटी श्रेष्ठ र छोरी सृष्टि प्रधानले ५ लाख रुपैयाँको अक्षयकोष राखिदिएका थिए । यस्तै राकुपा बालवाङ्मय बालप्रतिभा पुरस्कारुका लागि वरिष्ठ साहित्यकार रामकुमार पाँडेले २ लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष राखिदिएका थिए । दुवै पुरस्कार पहिलोपटक वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?