डेंगु सङ्क्रमित तिब्र गतिमा बढ्दै,बागमती प्रदेशमा ३३ हजार नाघ्यो

`

     २०७९ कार्तिक २० गते ८:५३

काठमाडौँ,२० कार्तिक,आइतबार । बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात सय ६५ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमणबाट बिरामीको सङ्ख्या ३३ हजारभन्दा बढी पुगेको छ । यो सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । डेंगुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौँमा रहेको छ भने सबैभन्दा कम रसुवामा रहेको निर्देशनालयबाट प्राप्त तथ्यांक जनाइएको छ ।

डेंगु सङ्क्रमण काठमाडौँमा १३ हजार दुई सय जनामा फैलिएको छ भने रसुवामा आठ जनामा रोग पुष्टि भएको हो । यसैगरी ललितपुरमा नौ हजार दुई सय, मकवानपुरमा चार हजार छ सय ६९, भक्तपुरमा तीन हजार ६०, चितवनमा एक हजार आठ सय ५०, धादिङमा आठ सय ६० काभे्रपलाञ्चोकमा चार सय ८०, रामेछापमा एक सय ६८, सिन्धुपाल्चोकमा एक सय ६५, नुवाकोटमा एक सय ६८, सिन्धुलीमा एक सय ३३ तथा दोलखामा ८२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको बताइएको छ । यस्तै प्रदेशमा डेंगुबाट हालसम्ममा २१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?