काठमाडौँ, चैत्र १४ । आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विदेशमा मृत्यु र अंगभंग भएका श्रमिकका परिवारलाई दिइने क्षतिपूर्ति सम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत सुरु भएको घोषणा गरे ।
उनका अनुसार अब वैदेशिक रोजगारीमा गएका श्रमिकको विदेशमा मृत्यु वा अंगभंग भएमा आर्थिक सहायता वा क्षतिपूर्तिका लागि परिवारले स्थानीय तहबाट नै तोकिएका कागजातसहित अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
मृत्यु भएका श्रमिकले इच्छाएको व्यक्तिले नियम अनुसार पाउने बीमा रकम भुक्तानीका लागि समेत अनलाइन प्रणाली प्रयोग गर्नुपर्ने छ । अनलाइन प्रणाली प्रयोग गरेर स्थानीय तहमार्फत प्राप्त हुन आएका निवेदन तथा तोकिए बमोजिमका कागजातहरु सचिवालयमा प्राप्त भए लगत्तै बोर्डबाट नियम अनुसार पाउनुपर्ने क्षतिपूर्ति वा आर्थिक सहायता रकम भुक्तानी सेवा प्रदायक तथा स्थानीय तहमा सिफारिस गरेको सेवाग्राही वा नजिकको हकवालाको बैंक खातामा सिधा रकम भुक्तानी गरिने छ । बैंक खातामा जम्मा भएको रकमबारे सम्बन्धित व्यक्तिलाई म्यासेज मार्फत जानकारी गराइने छ ।
त्यस्तै बिरामी भएको खण्डमा श्रमिकको परिवारले पाउने स्वास्थ्य उपचार खर्च, अलपत्र परेमा श्रमिकलाई उद्दार गरी नेपाल ल्याउने, मृत्यु भएमा अलपत्र शव नेपाल झिकाउने, निशुल्क शव ढुवानी सेवा पनि अब बोर्डको सचिवालयबाट अनलाइन आवेदनमार्फत नै उपलब्ध गराइने भएको छ ।
मेनपावरहरुले वैदेशिक रोजगारीमा जाने श्रमिहरुलाई ठगी गरेको वा दुस्ख दिएको थाहा पाए तत्काल कडा कारबाही गरिने बताए । हाल ३५ वटा मेनपावर कम्पनीहरुको अनुसन्धान भइरहेको उनको भनाइ छ । विदेशमा घरको काम गर्न गएका महिलाहरु पुन: त्यही काममा जान नपाउने व्यवस्थालाई परिमार्जन गरी जान पाउनेगरी श्रम स्वीकृति दिने व्यवस्था गरिएको उनले बताए ।



