नेताहरु भ्रष्टाचार र चिल्ला गाडिमा,बाजुराका जनताहरु चरम भोकमरीको चपेटामा

`

     २०७८ चैत्र १२ गते १२:०७

काठमाडौं, चैत १२ । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका ४ सय दलित घरपरिवार अहिले चरम भोकमरीको चपेटामा परिरहेका छन् । जस कारण त्यहाँका अधिकांश बालबालिकाहरू कुपोषणको सिकार भई अकालमै मृत्युवरण गर्न बाध्य छन् । भोकमरीकै कारण कुपोषण भई बर्सेनि दर्जनौँ बालबालिकाको मृत्यु भइरहेको छ ।

यस गाउँपालिकाको मुक्तिकोट नेपालकै सबै भन्दा धेरै गरिब र दलित बसोबास गर्ने स्थान हो । गाउँपालिकामा दुई तिहाइ भन्दा बढी घर धुरीहरू चरम गरिबीले थलिएका छन् । घरमा अन्नको अभाव भएकै कारण बालबच्चालाई दुध चुसाउन समेत नसकेको वाड. न – १ कि स्थानीय रेली विश्वकर्मा बताउँछिन् । दुई महिनाको सुत्केरी रहेकी रेली विश्वकर्मा ४ सन्तानका आमा हुन् । खानाको अभावमा यस अघि कुपोषणकै कारण रेलीले आफ्ना ३ सन्तान गुमाउनु परेको थियो । अहिले कुपोषणकै कारण चौंथो सन्तान पनि मृत्युको मुखमा पुगेको रेली विश्वकर्मा बताउँछिन् । त्यस्तै अर्की स्थानीय खुसी विश्वकर्माको पनि १३ सन्तान मध्ये पाँच जनाको पौष्टिक अन्न अभावमा कुपोषणकै  कारण मृत्यु हुन पुगेको थियो । पाँच जना बालबच्चाको आमा जनसखा विश्वकर्माको गरिबीका कारुणिक पिडाले जो कोहिको आँखा रसाउने गर्दछ । अहिले सम्म आधा पेट समेत खाना खान नपाएको कारुणिक पिडा जनसखा विश्वकर्माले बताउँछिन् । सामान्य औषधी उपचारको समेत व्यवस्था हुन सकेको छैन । जसकारण अन्न अभाव, औषधी उपचारको कमी लगायतका कारण मुक्तिकोटका सयौँ आमाहरूको काख रितिरहेको छ । रेली वि क , खुसी वि क , जनसखा वि क लगायत त केही उदाहरणका पात्र मात्र हुन् । त्यहाँका हजारौँ जनताहरू भोकमरीको चपेटामा कारुणिक जीवन बिताउन बाध्य छन् । गाउँपालिका अध्यक्ष चिरञ्जिबी शाहिले गरिबी निवारणको कार्यहरू गरिरहेको बताएका छन् । तर अहिले सम्म त्यस्तो कुनै पनि कार्यहरू सुचारु नभएको स्थानियबासिहरु बताउँछन् ।

सरकारले गरिबी निवारणको ठेली का ठेली प्रतिवेदनहरू वर्षेनी छापिरहँदा मुक्तिकोटका विपन्न गरिब दलितहरूको जीवन स्तर भने झन् झन् खस्किरहेको छ । सिंहदरबारको सपना सिंहदरबार भित्रै सीमित गरिएको छ । भोका नाङ्गाकै निम्ति भनेर राजनीति गरेका कैयौँ नेताहरूको आज ठुलठुला गाउँ, सहरहरूमा महल, चिल्ला गाडीहरू रहेका छन् । तर ठुलठुला राजनीतिक परिवर्तनका निम्ति महत्त्वपूर्ण योगदान गरेका अधिकांश जनताहरूको अवस्था भने अहिले पनि चरम गरिबीको रेखामुनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?