काठमाडौँ, २७ फाल्गुन । लमजुङको क्व्होलासोथर गाउँपालिका-८ घाम्राङका बिनबहादुर गुरुङले गाउँपारीको चौतारीमा उभिएर चर्को आवाजमा उर्दी गर्न थालेपछि गाउँले कान टाँठो बनाउँदै उनलाई सुन्न थाल्छन् । उनी गाउँलेलाई खबर सुनाउने मान्छे अर्थात् कटुवाल ।
गाउँमा भइरहने भेला, बैठक वा कार्यक्रम, विवाह, पुटपुटे जस्ता शुभकार्यमा स्थानीयबासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्छन् । गाउँको रितिथितीि अनुसार असिना बार्ने, बिउ बार्ने देखि विकास निर्माणका काममा सामुहिक काम गराउन, दाउरा काट्ने, दुःख-बिरामीमा सघाउ गर्ने लगायतका काममा पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएको वडाध्यक्ष राजु गुरुङ बताउँछन् । वडा कार्यालयबाट गर्ने कार्यक्रमदेखि गाउँमा हुने सबैजसो कामको खबर गर्ने जिम्मा कटुवालको जिम्मेवारीमा रहेको वडाध्यक्ष गुरुङले बताए ।
गाउँलेलाई खबर गर्ने र त्यसैबाट आम्दानी गर्न पाउँदा आफुलाई सन्तोष लागेको उनको भनाइ छ । गाउँमा हुने कुनैपनि कार्यको खबर कटुवालबाटै आफुहरुले थाहा पाउने स्थानीय सन्तबहादुर परियार बताउँछन् । कटुवालले एकै पटकमा सबैलाई खबर पुर्याउने हुँदा कसैले थाहा पाउने वा कसैले नपाउने भन्ने समस्या नहुने उनको भनाइ छ ।
कटुवाल कराए बापत् उनले गाउँलेबाट सामुहिक रुपमा बार्षिक ४ मुरी धान, १ मुरी कोदो पाउँछन् ।




