MCC जसरी पनि पास गर्न अमेरिकाको धम्की

`

     २०७८ माघ २३ गते ३:५६

काठमाडौं, माघ २३ । नेपालमा MCC कार्यान्वयनको विषयमा सत्ता गठबन्धनभित्र तीव्र मतभेद भइरहेका बेला अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना फागुन १६ अर्थात् फेब्रुअरी २८ गतेभित्र संसदबाट जसरी पनि पास गरिसक्न नेपाल सरकारलाई घुमाउरो तरिकाले धम्की पत्र लेखेको छ ।

एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महमूद बाहले ३ फेब्रुअरीमा नेपाललाई पत्र लेख्दै एमसीसी सम्झौता कार्यान्वयनका लागि अमेरिकाले लामो समय कुर्न नसक्ने प्रष्ट पारेका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका अर्का नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त पत्र पठाउँदै एमसीसी कार्यान्वयनका विषयमा छिटो टुंगोमा पुग्न भनेका छन् । एमसीसीले पठाएको पत्र भने सरकारले गुपचुप राख्न खोजेको थियो । सत्ता गठबन्धनका दलहरूबीच पनि पत्र सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले १३ असोजमा एमसीसी बोर्डलाई पत्र पठाउँदै एमसीसी संसदबाट अनुमोदनका लागि चार पाँच महिनाको समय मागेका थिए । दुवै नेताले पत्रमा पाँच महिनामा एमसीसीका पक्षमा सत्ता गठबन्धनमा आवद्ध दलहरूसँग सकारात्मक छलफल गर्ने र एमसीसी अनुमोदनका लागि वातावरण बनाउने प्रतिबद्धता जनाएका थिए ।

नेपालका राजनीतिक दलबीच एमसीसी परियोजनाका विषयमा चर्को मतभेद छ भने जनमत पनि विभाजित छ । यस्तो बेला अमेरिकाले भने एमसीसी परियोजना छिटो कार्यान्वयनमा लैजान नेपाललाई दबाव दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?