माओवादीको लागि MCC न टोक्नु न बोक्नु

`

     २०७८ फाल्गुन ०९ गते ३:२९

काठमाडौं, फागुन ०९ । एमसीसी सम्झौताको सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजोआज बहुअवताररुपी चरित्र भएका नेताको रुपमा चर्चित छन् । उनलाई एमसिसीको सन्दर्भमा पाँच ‘अवतार’ भएको नेता भनि बिभिन्न सञ्चार माध्यम र विश्लेषकहरुले यतिखेर आलोचना गरिरहेका छन् ।

प्रचण्डले एमसीसी संसद्मा लैजान भनि सत्ता गठबन्धनमा सहमति जनाए । क्षणभरमै प्रमुख सचेतक देव गुरुङ मार्फत असहमति जनाउन लगाए। पार्टीका अर्थमन्त्री जनार्दन शर्मा लाई संसद्मा अनुपस्थित गराए। सम्झौता टेबल भएपछि पनि ‘पारित गर्न नदिने’ धारणा सार्वजनिक गरेर फेरि ‘भ्रम’ फिंजाए। प्रचण्डले एकै दिन गराएका यी घटनाक्रम कुन ‘सक्कली र कुन नक्कली’ थिए भन्ने छुट्ट्याउनै कठिन पर्यो।

कुनै पनि हालतमा एमसीसी संसद्मा लैजान नहुने बताउँदै आएका नारायणकाजी श्रेष्ठलाई आइतबार बिहान बसेको गठबन्धनको बैठकमा प्रचण्डले आफु संग लगेनन । त्यसपछि श्रेष्ठले झन् सामाजिक सञ्जालमार्फत एमसीसीको विपक्षमा मत जाहेर गरिरहे। दाहालले ‘चलाखीपूर्ण’ रूपमा सहमति जनाएकै कारण सभामुख सापकोटाले संसद्को कार्यसूचीमा एमसीसी राख्ने निर्णय सुनाए । जबकि माओवादी प्रमुख सचेतक देव गुरुङले एमसीसी टेबल गर्न नहुने भन्दै कार्यव्यवस्था परामर्श समितिमै ‘नोट अफ डिसेन्ट’ लेख्ने जनाएका थिए। तर, दाहालको ‘साथ’ पाएपछि माओवादीको विरोधबीच पनि कार्यसूचीमा एमसीसी चढाउन तयार भए सभामुख। यसअघि भने सभामुखले ‘राजनीतिक सहमति नजुटेसम्म’ कार्यसूचीमा नराख्ने बताउँदै आएका थिए।

प्रचण्डले गठबन्धनमा सहमति जनाए पनि कार्यव्यवस्थामा विरोध जनाउन लगाए। प्रमुख सचेतक गुरुङले संसद्मा टेबल गर्ने प्रक्रियामै असहमति जाहेर गरे । त्यति मात्र होइन, दाहाल उपस्थित प्रतिनिधिसभा बैठकमै गुरुङले विरोध गर्न समय मागे । उनले एमसीसी टेबल गर्न नहुने धारणा सुनाए। ‘बाहिर जनता आन्दोलित छन्,’ गुरुङले भने, ‘एमालेको अवरोध कायमै छ। राष्ट्रहितविपरीत छ। सदनमा टेबल गर्ने र अनुमोदन गर्ने भन्ने कुरा पनि छैन। कार्यव्यवस्थामा पनि असहमति दर्ज गरेका छौं। यसलाई टेबल नगरौं।’ यो घटना संसदीय राजनीतिमा शोभनीय नभएको कांग्रेसका नेता बताउँछन्। ‘प्रचण्डजी पार्टीको दलका नेता हो नि,’ कांग्रेसका एक सांसदले भने, ‘दलका नेताले भनेको नमान्ने पनि प्रमुख सचेतक हुन्छन् र ? आजको दोहोरो चरित्र राम्रो भएन।’

एमसीसी टेबल गर्ने निर्णयलगत्तै अर्थमन्त्री एवं माओवादी नेता जनार्दन शर्मा ‘बिरामी’ परे। अर्थमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी संसद्मा पेस गर्ने निष्कर्षमा सरकार पुग्यो । अर्थमन्त्री शर्मा संसद्मा देखा परेनन्। सञ्चारमन्त्री कार्कीले एमसीसी पेस गरिरहँदा सत्तासीन माओवादीकै प्रमुख सचेतक गुरुङ, पूर्वसभामुख कृष्णबहादुर महरालगायत नेताले कुर्सीबाट उठेर विरोध जनाए।

सत्तागठबन्धनका एक नेता डम्बर खतिवडाले माओवादीको द्वैध चरित्रले अचम्मित पारेको बताए। ‘साँच्चै एमसीसीको विरोध गरेको हो भने सरकार छोड्नुपर्‍यो। यसरी द्वैध चरित्र देखाउनु भएन,’ नेता खतिवडाले भने, ‘एमसीसी मुख्यालयलाई चिठी लेख्ने अनि सडकमा कार्यकर्ता उतारेर बितन्डा मच्चाउने रु प्रचण्डले सर्वाधिक गैरजिम्मेवार हर्कत गरिरहनुभएको छ।’

कांग्रेस नेता गगन थापाले एमसीसीका विषयमा दलहरूले ‘डबल स्टान्डर्ड’को बानी छोड्नुपर्ने बताए। ‘बालुवाटारमा सहमति गर्ने, पेरिसडाँडा पुगेर असहमति जनाउने यो कुन तरिका हो ? ’ महामन्त्री थापाले भने। एमसीसी राष्ट्रघाती नै हो भने सरकारविरुद्ध नभई आफ्नै पार्टी अध्यक्षविरुद्ध गठबन्धनका नेताहरूले विरोध गर्नुपर्ने थापाले बताए।

प्रतिनिधिसभामा सञ्चारमन्त्री कार्कीले एमसीसी टेबल गर्दा दाहाल कुर्सीमा मौन रहे। तर, दाहालका कार्यकर्ताले भने एमसीसीको विरोधमा दिनभर बानेश्वर क्षेत्रमा प्रदर्शन गरे। प्रहरीसँग भिडिरहे । संसद्मा टेबल गर्ने निर्णयपछि पनि दाहालले युवा÷विद्यार्थी नेतालाई सडक प्रदर्शनमा पठाएको भन्दै गठबन्धनकै नेताहरू असन्तुष्ट भए । कांग्रेस सचेतक पुष्पा भुसालले संसदभित्र प्रवेश पाइसकेको विषयमा बाहिर विरोध गर्नुको औचित्य नभएको बताइन् । ‘सडकमा जनतालाई उकास्न एउटा कुरा, बालुवाटारमा एउटा कुरा र सदनमा अर्कै कुरा बोल्न त भएन नि,’ नेतृ भुसालले भनिन्।

प्रधानमन्त्री देउवाले गत बुधबारै एमसीसी संसद्मा लैजान बल गरेपछि माओवादी संसदीय दलको बैठक बस्यो। बैठकले एमसीसी संसद्मा लैजान नहुने निर्णय गर्दै ‘जबर्जस्ती गरिए सरकार छोड्ने र एमसीसीका विपक्षमा मतदान गर्ने’, निर्णय गर्‍यो। त्यसयता पनि दाहालले एमसीसी जस्ताको तस्तै टेबल गर्न नहुने अडान राखे। तर उनी आइतबार बिहान भने ‘यु टर्न’ भए। एमसीसी टेबल भयो। आफ्नै निर्णय गलपासो भएपछि उनले अब एमसीसी अनुमोदन गर्ने प्रस्तावमा भोट नहाल्ने बताए। उनले ट्वीट गरेर यस्तो सन्देश दिए। कृष्णबहादुर महरालाई विज्ञप्ति जारी गर्न लगाए। महराको विज्ञप्तिमा सरकारले जबर्जस्ती एमसीसी सम्झौता अघि बढाएको आरोप लगाइएको छ।

एमसीसीमाथि छलफल गर्ने प्रस्ताव अर्थमन्त्रीले राख्नुपर्ने थियो। संसद्को कार्यसूचीमा अर्थमन्त्री शर्माले एमसीसी टेबल गर्ने भनिएको थियो । एमसीसीमा तत्कालीन अर्थमन्त्रीले हस्ताक्षर गरेकाले यसको सम्बन्धित मन्त्रालय अर्थ मन्त्रालय हो। तर एमसीसी टेबल गर्ने निर्णयलगत्तै अर्थमन्त्री एवं माओवादी नेता जनार्दन शर्मा ‘बिरामी’ परे।

अर्कोतर्फ सभामुख अग्निप्रसाद सापकोटाले यसअघि राष्ट्रिय सहमति जुटे र संसद्को अवरोध हटे मात्रै एमसीसी टेबल गर्ने सर्त राखेका थिए। तर,दुवै विषय पूरा नहुँदै उनी एमसीसी टेबल गर्न सहमत भए। उनि पनि आफ्नो अडानबाट पछि हटे। गठबन्धनमा सहमति भएपछि सभामुखले एमसीसी कार्यसूचीमा राखे। राष्ट्रिय महत्वका विषयवस्तुलाई कार्यसूचीमा समावेश गरी छलफल गरिनु उपयुक्त हुन्छ भन्ने लागेको हुँदा अहम् महत्वका विषयहरूलाई कार्यसूचीमा समावेश गरिएको स्पष्टोक्ति उनले दिएका छन्।

यसरी पटक पटकको आफ्नै निर्णय गलपासो भएपछि प्रचण्ड अब एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने दोधारमा रहेको प्रष्ट बुझ्न सकिन्छ । मुलुकमा परिवर्तनको ऐतिहासिक बिरासत बोकेको माओवादी पार्टी आज एमसिसी कै कारण ठुलो राजनैतिक संकटमा फसिरहेको छ । जसकारण माओवादी पार्टीको लागी एमसिसी न टोक्नु न बोक्नु झै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?