चीनले MCC को बिरुद्दमा फेरि फायर खोल्यो
काठमाडौं, फागुन ११ । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताबारे चीनले पुनः प्रश्न सहित प्रतिवाद गरेको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चिनयिङले नेपालसँग गरिएको एमसीसी सम्झौता कस्तो उपहार हो भनी प्रश्न गरेकी छन्। चिनयिङले एकातिर उपहार पनि भन्ने तर दबाव सहित अल्टिमेटम पनि दिने भन्ने विषय आश्चर्य रहेको बताएकी हुन्।
विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार भेटघाटमा उनले एमसीसी सम्झौतालाई अमेरिकाले उपहार भनेको तर उपहार लिन दबाव सहित अल्टिमेटम तोकेकोले आफु आश्चर्यमा परेको जानकारी गराईन् ।
प्रवक्ता हुआ चिनयिङले अमेरिकी अधिकारीहरुले एमसीसी अनुमोदन नभए द्विपक्षीय सम्बन्धमा असर पर्ने भन्ने दिएको अभिव्यक्तिले पनि यो उपहार हो कि प्यान्डोराज बक्स हो बुझ्न नसकेको बताइन्। ‘उपहारमा कसरी अल्टिमेटमको पोका आउन थाल्यो, त्यस प्रकारको उपहार कसरी स्वीकार्न सक्छरु यो हेर्दा राम्रो छ तर चपाउन मुस्किल पार्ने मासु हो भनेर नेपालीले भन्ने हुन कि भन्ने डर छ,’ उनले भनेकी छन्।
प्रवक्ता हुआ चिनयिङले अन्तर्राष्ट्रिय सहयोग लिँदा पारस्परिक सम्बन्ध र सार्वभौम सत्ता र त्यहाँको जनताको सम्मान गर्नुपर्ने बताइन्।‘अन्य मुलुकको सार्वभौम सत्तामा अहित हुने काम गर्नु हुँदैन। नेपाली जनताले स्वतन्त्ररुपमा विकासका योजनाहरु रोज्न पाउनुपर्छ, ’ उनले भनिन्,‘ नेपालको आर्थिक, सामाजिक विकासमा सहयोग गर्न चीन सधैं तयार छ ।’




