कमल थापा ‘राष्ट्रिय एकता पार्टी नेपाल’ को अध्यक्ष

`

     २०७८ माघ २७ गते ३:३७

काठमाडौं, माघ २७ । राप्रपाका पूर्वअध्यक्ष कमल थापा अब ‘राष्ट्रिय एकता पार्टी नेपाल’ को अध्यक्ष बन्ने भएका छन् । थापाले फागुन १ मा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिने तयारी गरेका छन् । थापाले यसबारेमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग पनि कुराकानी गरिसकेको निकटस्थहरूले जानकारी दिएका छन् ।

पूर्वअध्यक्ष थापाले हिन्दुराष्ट्रको एजेन्डा बोकेर नयाँ पार्टी गठन गर्न राप्रपा परित्याग गरिसकेका छन् । स्थानीय चुनाव घोषणा भइसकेकोमा फास्टट्रयाकबाट पार्टी दर्ताका लागि थापा समूहले आग्रह गर्ने तयारी गरेको छ ।

महाधिवेशनमा आफूलाई हराउन पार्टीभित्र हस्तक्षेप गरेको भन्दै थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको चर्को आलोचना गर्दै आएका छन् । उनले महाधिवेशनमा निर्मलनिवासको हस्तक्षेप छानबिनका लागि दुईपटक राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चिठी पठाए पनि लिङ्देनले पार्टीमा निर्मलनिवासको नकारात्मक छवि निर्माण हुने गरी छलफल नहुने अडान राख्दै आएका छन् ।

कमल थापा नेतृत्वको पार्टीमा पूर्वकोषाध्यक्षद्वय चन्द्रबहादुर गुरुङ, उद्धव पौडेल, पूर्वप्रवक्ता सुशील श्रेष्ठसहितका नेता रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?