काठमाडौँ, १७ माघ । कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रक्रिया शुरु गरेको छ ।
मन्त्रालयका अनुसार सरकारले अघिल्लो आर्थिक वर्षमै तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रक्रिया अगाडि बढाउने घोषणा गरेको थियो । सोही घोषणाा अनुसार प्रक्रिया थालिएको मन्त्रालयले जनाएको छ । सो क्षेत्रको सिमांकन समेत सम्पन्न भई स्वीकृतिका लागि मन्त्रिपरिषद् पठाउने तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
सरकारले अघिल्लो आवमै कपिलवस्तुको तिलौराकोटसहित धनुषाको रामजानकी मन्दिर र नवलपरासीको रामग्रामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाउने घोषणा गरेको थियो ।
युनेस्को अन्तर्गत रहने हेरिटेज कमिटीले सम्पदाबारे हरेक वर्ष नयाँ थप गर्ने, खतराको सूचीमा राख्ने र खतराको सूचीबाट हटाउने निर्णय गर्छ ।




