हामी सबै पक्षलाई शान्त रहन र सङ्कट निम्त्याउने कुनै पनि गतिविधिबाट टाढै रहन आग्रह गर्छौँ: चीन

`

     २०७८ माघ १३ गते ११:४७

काठमाडौँ, १३ माघ । चीनले युक्रेनको जारी संकटमा मुछिएका सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ ।

बुधबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँगको टेलिफोन कुराकानीमा चिनियाँ विदेशमन्त्री वाङ यीले युक्रेनको जारी संकटमा संलग्न सबै पक्षलाई शान्त एवं संयमित रहन आग्रह गरेका हुन् ।

‘हामी सबै पक्षलाई शान्त रहन र तनाव निम्त्याउने तथा संकट चर्काउने कुनै पनि गतिविधिबाट टाढै रहन आग्रह गर्छौं’, चिनियाँ विदेश मन्त्रालयले यीलाई उदृत गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यता ब्लिङ्केनले कुराकानीका क्रममा आफूहरू तनाव कम गर्ने कुरालाई जोड दिएको भन्दै रुसी हस्तक्षेपबाट हुन सक्ने सुरक्षा एवं आर्थिक जोखिमबारे चेतावनी दिएका थिए । कुटनीति नै अघि बढ्ने जिम्मेवार माध्यम भएको पनि उनको भनाइ थियो ।

पछिल्लो समय युक्रेनलाई लिएर पश्चिमा मुलुक र रुसबीच जारी तनाव थप चर्किइरहेको छ ।

तर, रुसले नेटो गठबन्धनमाथि पूर्वी युरोपमा सैनिक उपस्थिति मजबुत बनाउन खोजेको आरोप लगाउँदै आएको छ । रुसले पूर्वी युरोपबाट नेटो फौज तथा हतियार हटाउन र युक्रेनलाई नेटो गठबन्धनमा कहिल्यै सामेल नगराउन भनिरहेको छ ।

अमेरिका र नेटोले भने रुसको उक्त आग्रहलाई अस्वीकार गर्दै हतियार नियन्त्रणजस्ता विषयमा कुरा गर्न तयार रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?