काठमाडौँ, १३ माघ । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तडमा यात्रुको सहज आवास सुविधाका लागि निर्माण गर्नका लागी दुई वर्षअघि जग खनिए पनि भवनहरू दुई वर्ष बित्दासमेत बन्न सकेका छैनन् ।
खपतड बासीको अनुसर भवन निमार्ण नहुदा सुविधायुक्त भवन अभावमा खप्तड पुगेका पर्यटक भने चिसोले कठ्यांग्रिएर रात बिताउन बाध्य हुदै आएका छन् । खप्तड राष्ट्रिय निकुञ्जमा ४ जना संरक्षण अधिकृतले कार्यकाल सकेर गइसके पनि भवन निर्माणको कामभने जहाँको त्यहीँ हुनु आश्चर्यको विषय भएको बताउछन ।
१ सय ५० जना पर्यटकलाई सुविधायुक्त तरिकाले रात काट्न मिल्ने भवनहरू निर्माण गर्न दुई वर्षअघि नै काम सुरु भएको थियो ।
सात महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने भन्दै २०७६ पुसमा निकुञ्जले प्रिफ्याब प्रविधिमा आधारित आठवटा भवन निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गरेको थियो ।
खप्तड राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सुनिल बोहरा भन्छन् ‘ठेक्काको सुरुमै लकडाउन भयो । त्यही वर्ष कात्तिकबाटै हिमपात पनि भएकाले काम हुन पाएन,’ उनले भने, ‘अर्को वर्ष पनि त्यस्तै भएर काम ढिलाइ भएको हो । अब फाउन्डेसन तयार भइसकेको छ । छिटो काम गर्यो भने चैतभित्र सम्पन्न भइहाल्ला भन्ने आशा छ ।’
उनले चैतभित्र काम सम्पन्न नभएमा अर्को पटक म्याद थप हुने नहुने विषयमा विभागले निर्णय गर्ने भएकाले आफूले केही भन्न नसक्ने बताए ।
यता ठेकेदार कम्पनीका प्राविधिक सुनिल कुँवरले भने भवनको डिजाइन नै गलत भएका कारण समय मै निर्माण सम्पन्न गर्न नसकिएको बताए ।




