काठमाडौँ, १७ पौष । अर्थमन्त्री जनार्दन शर्माले विद्युत खपत हुने क्षेत्रको खोजी गर्नुपर्ने बताएका छन् ।
नागरिक लगानी कोषको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै विद्युतको बजार खोज्न नभएर यसको खपत हुने क्षेत्र खोज्नुपर्ने बताएका हुन् ।
‘जलविद्युत थोरै मात्र उत्पादन हुँदा पनि हामी यसको बजार खोज्दै हिँड्नुपर्ने अवस्था छ’, उनले भने, ‘हाम्रो ऊर्जा क्षेत्रलाई बजार खोज्ने होइन, खपत हुने क्षेत्र खोज्ने हो । हामी उल्टो बाटोमा छौँ ।’ बजारले भन्दा खपत गर्ने क्षेत्रले बढी प्रतिफल दिने बताउँदै उनले खपतले मुलुकलाई आर्थिक विकासतिर लैजाने बताए ।
कृषि आधुनिकीकरण,औद्योगीकरण, शिक्षा तथा प्रविधि, स्वास्थ्य लगायतका क्षेत्रमा खपत गर्न सकिने मन्त्री शर्माले औँल्याए । त्यस्ता क्षेत्रको समयमै पहिचान गरी नागरिक लगानी कोष जस्ता कोषले लगानी गर्नुपर्नेमा समेत उनले जोड दिए ।



