काठमाडौँ, १६ पौष । केही दिन यता काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ ।
चिसोका कारण बिजुलीको माग अधिक र ओभरलोडेड विद्युत् प्रसारण हुँदा पुराना उपकरणमा समस्या भएपछि विभिन्न स्थानहरूमा विद्युत् आपूर्तिमा समस्या आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईको अनुसार बुधबारको झरीपछि बढेको चिसोका कारण विद्युत् माग बढेको र त्यसको लोड विद्युत् आपूर्ति गर्ने उपकरणहरू ट्रान्सफर्मर, बिजुलीका तारमा परेको कारण विद्युत् बिजुली जाने समस्या भएको बताए ।
देशभरको अवस्था हेर्दा बुधबार १७ सय मेगावाट विद्युत् माग रहेकोमा बिहीबार १६ सय मेगावाट विद्युत् माग रहेको भट्टराईले बताए । उनले भने–‘हामी १८ सय मेगावाटसम्म नियमित विद्युत् आपूर्ति गर्न सक्छौँ । अहिले बिद्युत्को समस्या हैन, समस्या भौतिक पूर्वाधारहरूको हो । भौतिक पूर्वाधारहरू पुरानो र जीर्ण अवस्थामा भएकोले समस्या आएको हो ।’
विद्युत् ओभरलोड भएर समस्या आएका संरचना प्राधिकरणका प्राविधिकहरूले मर्मत गरिरहेको उनले बताए ।



