काठमाडौँ, १४ पौष । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ ।
यो क्रम आज रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् गङ्गा नगरकोटीका अनुसार सो प्रणाली बिहीबारदेखि क्रमिकरुपमा कमजोर बन्दै जाने देखिएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भइरहेको छ ।
राति देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको बताइएको छ ।



