हुम्लाबाट वडाध्यक्ष खाद्यान्न माग्न पाँच हजार मिटर अग्लो न्यालु लेक नाघेर सदरमुकाम सिमिकोट हुँदै काठमाडौँमा
हुम्ला । हुम्लाबाट नाम्खा– ६का वडाध्यक्ष पाल्जोर तामाङको टोली खाद्यान्न माग्न पाँच हजार मिटर अग्लो न्यालु लेक नाघेर सदरमुकाम सिमिकोट हुँदै काठमाडौँ आइपुगेको छ । स्थानीय बासिन्दाले चिनियाँ क्षेत्र ताक्लाकोटमा ज्याला–मजदुरी गरेर जीविका चलाउँदै आएकोमा कोरोनालगत्तै चीनले नाका बन्द गरेपछि खाद्यान्न सङ्कट चुलिएको हो।
चीनकै हिल्सा नाका हुँदै सरकारले पठाउने खाद्यान्न पनि आउन बन्द भएपछि समस्या झन् थप पेचिलो बनेको हो । गत वर्ष पनि गाउँमा अनिकाल चीनले नाका बन्द गरेपछि भएको थियो।
अनिकालको समस्या लिएर सदरमुकाम सिमिकोट आएका टोलीको गाउँमा सबैतिर हारगुहारपछि गत वर्षको असोजमा केही क्विन्टल चामल र केही बोरा नुन भने गाउँ पुगेको थियो । त्यसले धेरै नधानेपछि उवाको सातु खाएर पनि गुजारा गर्न बाध्य गाउँलेलाई अनिकालले नराम्ररी सताउन थाल्यो ।
ज्यानकै माया मारेर हिउँको पहाड छिचोल्दै २५/३० जनाको टोली शनिवार सिमिकोट आएर सांसद छक्कबहादुर सँगै सिडिओलाई भेटेपनि, सदरमुकामको प्रयासबाट मात्रै केही उपाय नचल्ने दखियो । टोलीलाई सदरमुकाममै राखेर वडाध्यक्ष सांसद छक्कबहादुर सँगै जहाजमा १३ हजार रुपैयाँ खर्च गरेर सोमबार काठमाडौँ आइपुगेका छन् । पाँच दिन लगाएर गाउँबाट आएका स्थानीय खर्चको अभावका कारण सिमकोटमै छन् ।
गाउँको भोकमरीको व्यथा बोकेर हुम्लाका वडाध्यक्ष जनताले नै चुनेर पठाएका प्रतिनिधि बस्ने सिंहदरबारको ढोका ढकढकाउन आइपुगेका छन् ।
यो चरम भोको पेटको कथा सिङ्ह दरबारले सुन्छ कि सुन्दैन, त्यो भने हेर्न बाँकी नै छ ।



