काठमाडौँ, १० असोज । यो वर्ष ३७९ किलोग्राम यार्सागुम्बा दार्चुलाबाट निकासी भएको छ ।
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार व्यापारीले छुटपूर्जी बनाएर यार्सागुम्बा काठमाडौँ निकासी गरेका हुन् ।
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी सन्तबहादुर मगरका अनुसार कार्यालयले यो यार्सागुम्बा व्यवस्थापन निर्देशिका अनुसार यो वर्ष आठ क्विन्टल बढी यार्सागुम्बाको निकासी अनुमति दिनेछ ।
यार्सागुम्बा निकासीवापत अपि नाम्पा संरक्षण क्षेत्रले प्रतिकिलो रु ३० हजार दरले राजस्व उठाउने गरेको छ । अहिलेसम्म कार्यालयले यार्सागुम्बा निकासीवापत रु ८३ लाख ७० हजार राजस्व सङ्कलन गरेको उनले बताए ।
व्यापारीको यो वर्ष खरिद गरिएको यार्सागुम्बा अझै बिक्री हुन बाँकी छ । गत असारदेखि खरिद गरिएको यार्सागुम्बा व्यापारीले निकासी गरेका छैनन् । “यार्सागुम्बा खरिद महँगोमा गरिएको छ तर अहिले मूल्य घटेका कारण पनि यार्सागुम्बा बिक्रीका लागि काठमाडौँ लगेका छैनौँ”, व्यापारी धनसिंह जागरीले भने, “अहिले जिल्लामै स्थानीयवासीबाट सङ्कलनको काम भइरहेको छ ।”
अहिले यार्सागुम्बाको गुणस्तर अनुसार प्रतिकिलो रु नौ लाखदेखि २० लाख मूल्य पुगेको छ ।




