काठमाडौँ, २९ साउन । महानगरीय प्रहरी प्रभाग कपनले बूढानीलकण्ठ नगरपालिका–१२ बालकुमारी टोलबाट लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा उदयपुरको चौदण्डीगढी नगरपालिका–६ घर भई बूढानीलकण्ठ–१० जोरधारा बस्ने ३० वर्षीय शिवकुमार गिरी र सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–७ घरभई बूढानीलकण्ठ–१२ मुस्कान चोक बस्ने २४ वर्षीय बुद्ध गुरुङ छन् ।
प्रतिबन्धित लागुऔषध बिक्रवितरण गरिररहेको गोप्य सूचनाका आधारमा उनीहरूलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रभागका अनुसार उनीहरूका साथबाट डाइजेल्याब ३ सय ९९ एम्पुल, नोफिन ३ सय ९० एम्पुल, फिनेरगन ४ सय एम्पुल र निट्राभेट–१० लेखिएको चक्की ९ सय थान बरामद भएको छ । दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाइएको छ ।




