वीरगन्जको धार्मिक असमझदारी सद्भावको बाटोमा, भयो ५ बुँदे सहमति

`

     २०८२ पौष २२ गते ४:४६

वीरगञ्ज, पुस २२ । वीरगञ्जमा फरक धार्मिक समुदायबीच बढेको असमझदारीलाई सद्भावमा बदल्न ५ बुँदे निर्णय गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय सर्बदीलय बैठकले ५ बुँदे निर्णय गरेको हो। योसँगै वीरगञ्जमा साँझ ६ बजेसम्मका लागि लगाइएको कर्फ्यू पनि हटाइएको छ।

आइतबारदेखि भइरहेको विरोध प्रदर्शनलाई मध्यनजर गरी शान्ति सुव्यवस्था कायम गर्न आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले स्थायी सद्भाव संयन्त्र गठन गर्ने लगायत ५ बुँदे निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भोला दहालले जानकारी दिए।

बिहान ८ बजेदेखि बसेको बैठकमा हिन्दू र मुस्लिम समुदायका अगुवाहरूको समेत सहभागिता रहेको थियो।

निर्णयको पहिलो बुँदामा अन्य मुलुक वा स्थानमा घटेको घटनालाई लिएर वीरगञ्जमा प्रदर्शन, आन्दोलन नगर्ने प्रतिबद्धता जनाइएको छ। त्यसको सट्टा पीडित पक्षले प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई ज्ञापन पत्र पेस गर्ने, त्यसपछि मात्रै आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।

दोस्रो भविष्यमा आउन सक्ने धार्मिक, सामाजिक सद्भाव विरूद्धका गतिविधिलाई नियन्त्रण गर्न तथा आवश्यक कानूनी कारबाहीका लागि सिफारिस गर्न जिल्लास्थित क्रियाशील राजनीतिक दलहरू एवं विभिन्न धार्मिक समुदायका अगुवाहरू रहनेगरी स्थायी सद्भाव संयन्त्र गठन गरिएको छ। जसमा हिन्दू समुदायका तर्फबाट रञ्जित साह र रञ्जन सिंह तथा मुस्लिम समुदायबाट महमद महबुब अलि ९शेरु० र अलि असगर मदनीले प्रतिनिधित्व गर्ने टुंगो लागेको छ।

संयन्त्रमा अन्य समुदायबाट पनि आवश्यकता अनुसार प्रतिनिधित्व रहने, जिल्लास्थित राजनीतिक दलहरूको तर्फबाट एकरएक जना प्रतिनिधि रहने, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष र नागरिक समाजका प्रतिनिधिलाई पनि संयन्त्रको सदस्यमा राख्ने सहमति बैठकमा भएको छ।

तेस्रो, मिडियाले समाचार सम्प्रेषण गर्नुपूर्व धार्मिक साँस्कृतिक सद्भावमा खलल नपुग्ने गरी समाचार सम्प्रेषण गर्न अनुरोध गर्ने निर्णय भएको छ।

चौथो, धार्मिक, साँस्कृतिक, सामाजिक सद्भाव विथोल्न दुरूत्साहन गर्ने समूह र आन्दोलनकारीलाई कानूनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने, साथै सबै पक्षले आ आफ्नो समूहको तर्फबाट भएको कमीकमजोरीको मनन गर्दै आ आफ्नो समुदायका व्यक्तिलाई अनुशासन र आत्मसंयम तथा सद्भाव राख्न प्रतिबद्धता व्यक्ति गर्ने र पाँचौं, विद्यमान परिस्थितिलाई सहज बनाउन सबैले भूमिका निर्वाह गर्ने निर्णय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?