एजेन्सि, ३० असार । अमेरिकाका राष्ट्रपति बन्नुअघि जो बाइडेन पत्रकार जमाल खग्गोसीको हत्याको विषयमा साउदी अरबको भूमिकाको विषयमा निकै कडा थिए । यो बिषयमा साउदी अरब प्रति कुनै पनि लचकता नदेखाउने आसा गरेको थियो ।
राष्ट्रपतिको रुपमा उनले फेब्रुअरी महिनामा त्यो गोप्य रिपोर्ट जारी गर्न अनुमति दिएका थिए जसमा हत्याको मामिलामा साउदी अरबका युवराज मोहम्मद बिन–सलमानमाथि शंका गरिएको थियो । युवराजले हत्यामा आफ्नो कुनै पनि भूमिका नभएको बताउँदै आएका छन् ।
तर राष्ट्रपति पद सम्हालेको ६ महिनाभन्दा पनि कम समयमा बाइडेन प्रशासनले युवराजका कान्छा भाइ तथा उप रक्षामन्त्री राजकुमार खालिद बिन सलमानको जोडदार स्वागत गरेका छन् ।
अक्टोबर सन् २०१८ मा खग्गोसीको हत्यापछि साउदी अरबबाट अमेरिकामा यो पहिलो उच्च स्तरीय यात्रा हो ।
के यसको अर्थ पश्चिमले युवराज सलमानलाई माफी दिएको हो त
होइन, अझ विशेषगरी मानवाधिकार संस्थाले त कुनै पनि हालतमा होइन । यसमा संयुक्त राष्ट्र पनि समावेश छ जसले लगातार मोहम्मद बिन सलमानविरुद्ध पूर्ण रुपमा स्वतन्त्र अनुसन्धानको माग गर्ने गर्छ ।
सन् २०१८ मा टर्कीको इस्तानबुलस्थित साउदी दूतावासमा युवराज सलमानका आलोचक रहेका पत्रकार जमाल खग्गोसीको हत्या गरिएको थियो ।
यसका लागि १५ साउदी अधिकारी दुई सरकारी जेट्समा इस्तानबुल पुगेका थिए जहाँ उनीहरुले जमाल खग्गोसीको हत्या गरेका थिए ।
जमाल खग्गोसी साउदी दूतावास पुग्ने बित्तिकै उनको घाँटी थिचेर हत्या गरियो र उनको शवलाई टुक्रा बनाएर नष्ट गरियो ।
आफ्नो दुई दिवसीय यात्राका क्रममा राजकुमार खालिद बिन सलमानले अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कन, राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सालिविन, रक्षामन्त्री लोयड अस्टिन र चेयरम्यान अफ द जोइन्ट चिफ्स जनरल मार्कसँग भेटघाट गरे ।



