विराटनगर, २६ फागुन । सर्वोच्च अदालतले एमाले माओवादी पूर्ववत् अवस्थामा भएको फैसलाअघि नेकपा अलग हुँदा प्रधानमन्त्री केपी शर्माले पार्टीको केन्द्रीय सदस्य बनाएका मोरङका युवराज बाँस्कोटालाई हत्या आरोपमा पक्राउ गरेको छ ।
मोरङको पथरीशनिश्चरे–१० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा प्रहरीले एमालेका नेता बास्कोटालाई बुधबार पक्राउ गरेको हो।
गत पुस १४ गते भण्डारी पथरीशनिश्चरे २ मंगलबारेस्थित बास्कोटाको घरमा भण्डारी मृत फेला परेका थिए। त्यसपछि मृतकका परिवारले २६ पुसमा ‘कर्तव्य ज्यान’ मुद्दामा बास्कोटाविरूद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए।
किटानी जाहेरी परेपछि मोरङ अदालतले पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएपछि बाँस्कोटालाई पथरीदेखि पक्राउ गरिएको हो।
बास्कोटालाई म्याद थप गर्न मोरङ अदालतमा लैजाने तयारी गरेको प्रहरीले जनाएको छ ।




