- प्रकाश बुढाथोकी
नमस्कार स्वास्थ्यमन्त्री ज्यु…..
आरामै होइसिन्छ होला नि हैन ? देश अस्वस्थ हुन लागिरहँदा हजुर कसरी स्वस्थ हुनुभएको होला ? योत जो कोहीले पनि सजिलै अनुमान लगाउन सकिन्छ ।
विश्वका ६० भन्दा बढी देश यो बिकराल महामारी कोरोनाबाट आक्रान्त बनिरहेका छन्। युरोपियन देशमा दिनको २५ प्रतिशतले कोरोना नामको भाइरस फैलिदै छ। एशियाको त कुरै नगरौ हाम्रा २ ठूला छिमेकी मुलुकहरु जोखिम मोलिरहेका छन्। यतिबेला विश्ननै कोरोना भाइरसको त्रासमा छ।
हरेक दिन ज्यान गुमाउने र नयाँ संक्रमण हुने व्यक्तिको संख्यामा पनि वृद्धि भइरहेको समाचार आइरहेका छन्।हामी कोरोना भाइरस प्रकोपको पूर्व सन्ध्यामा छौं । विकसित भनिएका देशहरुको अर्थतन्त्र थला पार्दिने कोरोना नेपाल पसे के होला ? सोच्दा पनि डर लाग्छ।कोरोना आउँदैन भनेर यसरी ढुक्क बसेको छौ। के छ हाम्रो तयारी? सिटामोल खान नपाएर मर्नेहरु मरिरहेका छन्। एक हजार जनामा संक्रमण भयो भने हामी के उपचार गर्न सक्छौं ? सरकार अनि हामी जनातापनी मौन । यस्तो बेला नेपाल सरकार अझै पनि चुपचाप छ ।

डब्लु एच ओले भारत पाकिस्तान,श्रीलंका र अफगानिस्तानसँगै नेपाल पनि कोरोनाको उच्च जोखिममा छ भनेर घोषणा गरेको छ ।भाइरसकै कारण विश्वका शक्तिशाली भनिएका देशहरुको जनजीवन समेत अस्तब्यस्त बनिरहेको दुखान्त घडीमा नेपाल सरकार सत्ता समिकरण संवीधान संसोधन अनेकौँ खेलमा मस्त छ।
यस्ता महामारीहरुमा पटक – पटक मरिरहेको देशमा जनता आफैँ सजग बन्नुको बिकल्प छैन। यदि यो बिकराल समयमा हामी आफैँ सजग बनेनौँ भने हजारौँ मान्छेहरु मर्नेछन् बेलैमा सावधान बनेर बसौँ। कोरोना भाइरस नियन्त्रणको पहलकदमी लिन ढीला भइसक्यो कि ? अझै पनि माओको देशको भाइरस पनि पवित्र हुन्छ भन्दै बस्ने ? कि यो भाइरस अमेरिकीहरुको षडयन्त्र भन्दै बस्ने हो ? या धुलो र धुवामा फैलिदैन भन्दै बस्ने? चिनले जे को पनी औषधी बनाउन सक्छ भन्दै गुणगान गाएर बस्ने?
अब नेपाललाई कोरोना फ्री देश भनेर बस्ने छुट छैन। डब्लु एच ओले समेत जोखिम मुलुक भनी सकेको अवस्थामा नेपाललाई ुकोरोना फ्री जोनु घोषणा गरेर चिनियाँहरु नेपालमा भित्र्याउनु कतिको जायज कुरा हो ? चीनबाट फर्किएका मंगोलियाका राष्ट्रपति पनि क्वारेन्टाइनमा बसेका छन्,। नेपाल घुमेर फर्केका एक स्पेनीस नागरिकको कोरोना भाइरसका कारण मृत्यु भन्ने कुरा पनि सुनिएको छ।
नेपालमै सर्यो कि अन्तैबाट सर्यो पुष्टी हुन बाँकी छ। बिडम्बना के गर्नु सरकार आफैं आइसियुमा छ । हामी चिनियाँहरुलाई नेपाल बोलाउदै छौँ। सामान्य ज्वरोमा पनि करोडौं खर्च गरेर वैदेशिक उपचारमा जाने साशक किन जनताको स्वास्थप्रती चिन्तित नभएकै हुन त? यो महामारीलाई सामान्य रुपमै हेरिदै छ। विश्व नै कोरोना भाइरसबाट त्रसित र पीडीत भैरहेको अवस्थामा र यसबाट बच्ने उपायको तिव्र खोजी भैरहेको छ।
जनचेतना मुलक कामहरु विभिन्न देशहरुले गरिरहेको छन्।बिमानस्थलमा उच्च सतर्कतासँगै तयारी अवस्थामा स्वास्थ्य मन्त्रालय रहोस् ।अहिले सम्म त पशुपतिनाथको कृपा भनौं या समयले साथ दिएको छ । कोरोना भाइरस फ्री जोन भनेको खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरे जस्तो हैन नि पर्यटन मन्त्री ज्यु ।
नेपालीहरु भगवान् भरोसामै बाँच्ने त हुन नि। कोरियाले घोषणा गरिसकेको छ कोरोनाविरुद्द युद्ध, २५ अर्ब डलर बजेट । त्यस्तै जापान सरकारले कोरोना सँग लड्न २७० बिलियन येनको राहत कोष सहयोग गर्न प्रधानमन्त्रीले आग्रह पनि गरिसकेका छन्।
भिडभाड हुने पर्यटकीय क्षेत्रहरु र विद्यालयहरु बन्द भैसकेका छन्।अहिलेसम्म कुनै पनि कुराको साबधानमा जनतालाई सम्बोधन गरेकै सुनिँदैन । कुनै स्वास्थ्य परीक्षण बिना दुबै देशका सिमानाबाट आउने जाने क्रम बाक्लो छ। कम्तिमा नाकाहरुमा कडा चेकजाँच गरिएन भने के होला त मन्त्री ज्यु ? चीन जस्तो देश यहि भाइरससँग लडिरहेको छ। उच्च स्रोत–साधन, यथेस्ट चिकित्सक र सकेसम्मको तयारी गर्दागर्दै त्यहाँ हरेक दिन नयाँ बिरामी देखिइरहेका छन्।
हाम्रोमा देखियो भने के हालत होला मन्त्री ज्यु ? कि नेपालीलाई रुघाखोकी लाग्नु सामान्य हो नुन–बेसार तातोपानी खाए ठिक हुन्छ भनेर बस्ने? हजुर जस्तो ज़िम्मेवार ब्यक्ति नै भनिसिन्छ भारत र चीनले राम्रो तयारी गरेकाले नेपालमा त्यति जोखिम नहोला।परीक्षामा अगाडि पछाडिका साथिहरुले राम्रो पढेका छन् भनेर ढुक्कले परीक्षा दिनु कत्तिको जायज़ होला मन्त्री ज्यु?
हल्का टीका–टिप्पणी र प्रतिक्रिया दिनुभन्दा देशभित्र संक्रमण छिर्नै नदिने उपाय र जोखिम आइहाल्ने कसरी व्यवस्थापन गर्ने भन्नेतिर सोच्ने कि ? रोग लाग्नु भन्दा रोग लाग्न नदिनुनै बुद्धिमानी मानिन्छ हैन र स्वास्थ्य मन्त्री ज्यु ।




