अब चाहिँ किसानको हातमा सिधै अनुदान रकम पुग्ने कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुसालले बताएका छन् । उनका अनुसार अबको दिनमा किसानको खातामा सिधै पैसा जाने व्यवस्था मिलाउन लागिएको छ ।
मन्त्री भुसालका अनुसार सरकार व्यावसायिक कृषि उद्यमका माध्यमबाट खाद्यान्न र तरकारीमा आत्मनिर्भर एवम् रोजगार विस्तार गर्ने सोच बनाएर अघि बढिरहेको छ ।
मन्त्री भुसालले नेपाल चेम्बर अफ कमर्सद्वारा सोमबार काठमाडौँमा आयोजित नेपालमा कृषि क्षेत्रका व्यवसायीकरणमा निजी क्षेत्रको भूमिका विषयक कार्यक्रममा उक्त बताएका हुन्।
अहिले उखु किसानले भोगिरहेका समस्या समाधान गर्न सरकारका विभिन्न संयन्त्रले काम गरिरहेको पनि उनले सो कार्यक्रममा जानकारी दिएका छन्।
उखु किसानको समस्या चाँडै समाधान होस् ।
मन्त्री भुसालको भनाईमा कतिको सत्यता छ, त्यो त हेर्नै पर्छ । मन्त्री र सरकारले दिएका आश्वासन र अनुदानबाट भने स्वयम् लक्षित वर्ग मारका पर्दै आएका छन् ।
यस अघि पनि किसानलाई अरबौँ रकम अनुदान छुट्ट्याएको भनिएको तर स्वयम् किसान बेखबर रहेको कुरा चर्चामा रहँदै आएको छ । सरकारले तोकेको अनुदान प्राप्त गर्ने सम्बन्धीको झन्झटिलो प्राविधिक कुरा जस्तै प्रपोजल तयार गर्ने, स्वयम् ऋण प्रवाह गर्ने अधिकारीलाई कमिसन पर्सेन्ट छुट्ट्याउनु पर्ने आदि दुःखद प्रक्रिया नै किसानको योग्यता बाहिर रहेको र स्वयम् राजनीतिक दलका आसेपासेले त्यो कुराको फाइदा लिएर अरबौँ रकम हिनामिना भएको कुरा व्यापक जनगुनासोको रूपमा आइरहेको छ ।
त्यसै गरी उन्नत बिउको नाममा पनि गरिब किसान नराम्ररी ठगिँदै आएका छन् । यस्ता कुरालाई नियमन गर्न सरकारको उचित ध्यान बेलैमा किन नगएको होला?
देशमा बाँझो रहेको उर्वर जमिनमा खनजोत गर्ने वातावरण बनोस् र कृषिजन्य उत्पादनमा मुलुक छिट्टै आत्मनिर्भर होस् ।




