काठमाडौँ, पुस ६ । ६ वर्षमा ३४ हजार ५८८ सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ ।
यातायात व्यवस्था विभागले गरेको ठेक्का सम्झौताअनुसार ५ वर्षभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर जडान गरिसक्नुपर्ने थियो । तर ठेक्का सम्झौता भएको ६ वर्ष पुग्दा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारीको संख्या ५० हजार पनि पुग्न सकेको छैन ।
इम्बोस्ड नम्बर प्लेटको ठेक्का बंगलादेश र अमेरिकाको डेकाटुर–टाइगर आईटी कम्पनीले २०७३ जेठ १९ गते ज्वाइन्ट भेन्चरमा लिएको हो । सम्झौता २०७८ असारमा सकिए पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्नेको संख्या बढ्न सकेको छैन । अबको १० महिनाभित्र २४ लाख ६५ हजार ४१२ सवारीमा यो नम्बर प्लेट जडान गरिसक्नु पर्ने छ । यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेयले वर्कसप मोडलमार्फत् भए पनि तोकिएकै समयभित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्ने दाबी गरे ।



