काठमाडौँ,१७ कार्तिक, बिहीबार। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेपानीको अनुगमनका क्रममा २० लिटर भनेर बिक्री भइरहेको पानीको जारमा १९ लिटर मात्रै हुने गरेको फेला पारेको छ । पानी उत्पादन उद्योगीहरू नै १९ लिटर क्षमता भएको पानीको जारमा २० लिटर भनेर बिक्री गर्दै आएको स्वीकार गर्छन् । प्रशोधित पिउने पानीको गुणस्तरको समस्या बारम्बार सुनिँदै आएको हो । तर, अहिले पानीको तौलमै समस्या भएको खुलासा भएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमनाथ भट्टराईले १९ लिटर क्षमता भएको जारलाई २० लिटर भनेर बजारमा पठाउने गरेको अनुगमनका क्रममा पाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “१९ लिटर मात्रै पानी भएको तर २० लिटर भनेर लेबल टाँसिएको जार बजारमा बाक्लै भेटिएका छन् ।”
उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले नापतौलमै ठगी गर्नु गम्भीर अपराध भएकाले कानुनका भएको हैदसम्मको कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । उपभोक्ता अधिकारकर्मीहरू भने वर्षौंदेखि पानीका नाममा उपभोक्ता ठगी गर्ने नापतौलमा ठगी गरिरहेका उद्योगीलाई कडा कारबाही हुनु्पर्ने बताउँछन् ।



