यातायात व्यवस्था विभागद्वारा स्वचालित वैज्ञानिक भाडादर समायोजन गर्न सिफारिस

`

     २०७८ चैत्र ११ गते ६:१८

काठमाडौँ, ११ चैत्र । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनमा स्वचालित वैज्ञानिक भाडादर समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गरेको छ ।

स्वचालित भाडा निर्धारण हुनेगरी एउटा प्रणाली विकास गरेर मन्त्रालयमा सहमतिका लागि पेश गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएका कारण भाडा वृद्धि गर्नुपर्ने यातायात व्यवसायीको माग छ,’ महानिर्देशक घिमिरेले भने, ‘इन्धनको मूल्य घटबढ भइरहन्छ, हरेक पटक निर्णय गरेर भाडा बढाउनेरघटाउने गर्नुभन्दा पेट्रोलियम पदार्थ लगायत अन्य पार्टपूर्जाको मुल्य वृद्धि वा घटेको आधारमा स्वचालित भाडा समायोजन गर्न जरुरी छ ।’

यसअघि स्वचालित भाडादर कायम गर्न वैज्ञानिक भाडादर समायोजन प्रणाली विकास गरिएको छ । त्यही प्रणाली अनुसार भाडादर समायोजनको व्यवस्था गर्न मन्त्रालयमा सहमतिका लागि पेश गरिएको विभागले जनाएको छ । मन्त्रालयबाट निर्णय भएर आउनेबित्तिकै यो लागू हुने विभागले जनाएको छ । मन्त्रालयमा सिफारिस गरेको दुई हप्ता हुन लागिसकेको छ । अहिलेसम्म कुनै निर्णय आई नसकेको विभागले जनाएको छ । गत असारमा मात्रै संघीय सरकारको क्षेत्राधिकारका सवारी साधनको भाडादर समायोजन गरिएको थियो । त्यसयता पटक पटक इन्धनको मूल्य बढे पनि भाडा नबढाइएको भन्दै व्यवसायीले समायोजनाका लागि दवाव दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?