काठमाडौँ, १२ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अलपत्र पार्ने मेनपावर कम्पनी र दलालहरूलाई कारबाही गर्ने बताएको छ ।
बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा मन्त्री श्रेष्ठले यस्तो भनाई राखेको हो ।
उनले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर दलालहरूले विभिन्न देशमा पुर्याई नेपाली युवाहरूलाई अलपत्र पार्ने क्रम बढेको भन्दै त्यसतर्फ सचेत रहन पनि आग्रह गरे।
मन्त्री श्रेष्ठले ठगीमा परेका नागरिकहरूले आफ्ना गुनासोहरू सिधै मन्त्रालयको सचिवालयमा फोन गरेर टिपाउन पनि आग्रह गरे।
उनले दलालहरूबाट ठगिने क्रमलाई रोक्नका लागि मन्त्रालयले विभिन्न समयमा छड्के, अनुगमन, नयाँ–नयाँ गन्तव्यहरूको खोजी, श्रम सम्झौता र विभिन्न देशका कूटनीतिक नियोगहरूसँगको भेटघाटको क्रमलाई तीव्रता दिएको बताए।
मन्त्री श्रेष्ठले भने, ‘म श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आइसकेपछि श्रमिकहरूको हकहितको लागि असाध्यै जिम्मेवार तरिकाले लागेको छु। यसै सिलसिलामा हामीले विभिन्न छड्के अनुगमनदेखि लिएर विभिन्न नयाँ(नयाँ गन्तव्यहरूको खोजी कार्यदेखि लिएर, श्रम सम्झौता गर्नेदेखि लिएर विभिन्न देशका कूटनीतिक नियोगदेखि सबैसँग भेटघाटको क्रमलाई तीव्र बनाएका छौं।’
‘अलपत्र पारेको, ठगीमा परेको, विविध समस्या तथा अप्ठ्यारोमा परेमा त्यस्तो कार्यमा संलग्न कम्पनी वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन उनीहरूबारे जानकारी गराई सहयोग गरिदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछुु, उनले भने, ुत्यसका लागि मेरो सचिवालयको मोबाइल नम्बर ९८२३३५६७०४ र ९८२३३५६७०६ मा सिधा सम्पर्क गरी गुनासा, आफूलाई परेका समस्याहरू, टिपाउन सक्नुहुनेछ। र अन्त्यमा प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएरमात्र वैदेशिक रोजगारीमा जानको लागि पनि हार्दिक आग्रह गर्दछु।’




