काठमाडौँ, १० माघ । सोमबार एक विज्ञप्ति जारी गर्दै नेपालको राइड सेयरिङ कम्पनी पठाओले आफ्नो एपबाटमात्रै सेवा लिन र दिन आग्रह गरेको छ।
शनिबार मध्यराति एक जना पठाओ राइडरलाई बन्धक बनाएर धापाखेल पुर्याइ ती पठाओ राइडरलाई कुटपिट गरी हात र मुख बाँधेर झाडीमा फालेर हिँडेको घटना बाहिरिएको थियो।
पठाओका प्रवक्ता तथा मार्केटिङ प्रमुख सुरक्षा हमालका अनुसार पठाओ चालक प्रविन राईले अनलाइन सेवा दिएको देखिन्न। राईले अन्तिम राइड नै सामाखुसीदेखि कोटेश्वरसम्म दिएको हमालले बताइन्।
पठाओ अनलाइन राइड सेयरिङ प्लेटफर्म भएको र यसको सेवा लिन र दिन मोबाइल एपमार्फत् बुकिङ गर्न आवश्यक हुन्छ।
यसरी सेवा प्रदान गर्दा यात्रा गरिरहेको सवारीको विवरण, सेवाग्राही र राइडर दुबैको व्यक्तिगत जानकारी तथा यात्रा गरिरहेको स्थानको विवरण पठाओको एपमा उपलब्ध हुने पठाओले जनाएको छ।
मोबाइल एपमार्फत् राइड रिक्वेस्ट नगरी वा रिक्वेस्ट गरेको राइड क्यान्सिल गरी अफलाइन राइड लिँदा सेवाग्राही र राइडर दुवैको व्यक्तिगत विवरण र राइड तथा सवारीको विवरण रेकर्डमा नहुने हुँदा सुरक्षा संवेदनशीलता बढ्छ। जसले गर्दा यो घटनामा जस्तै आपराधिक मानसिकता भएका मानिसले गलत फाइदा उठाउन सक्छन्।




