सर्लाहीमा पहिलो र दोस्रो मात्रा खोप लिन बाँकी रहेकालाई घरमै खोप

`

     २०७८ माघ १० गते ७:५०

काठमाडौँ, १० माघ । सर्लाहीको हरिवन नगरपालिकाले पहिलो र दोस्रो मात्रा खोप लिन बाँकी रहेकालाई घरमै पुगेर कोरोना भाइरसविरुद्धको खोप दिन थालेको छ ।

नगरले अभियानका लागि स्वास्थ्य शाखाका कर्मचारी खटाएको छ । हालसम्म पालिकाको ३ र ४ नम्बर वडामा खोप लगाउन बाँकी रहेका ४० जनालाई कोभिसिल्ड र ९० जनालाई भेरोसेलको पहिलो मात्रा लगाइएको छ । अन्य ५५ जनालाई जोन्सन खोप लगाइएको स्वास्थ्य शाखाले जनाएको छ । यस्तै, नगरमा रहेका ४२ जना सशस्त्र प्रहरीलाई पनि खोप दिइएको इलाका हेल्थपोस्ट सासापुरका प्रमुख श्यामविनोद कुशवाहले जानकारी दिए ।

उनका अनुसार वैदेशिक रोजगारी तथा काम विशेषले विदेश जानेलाई जोन्सनको खोप दिइएको छ । ‘कोभिडविरुद्धको खोप अभियानअन्तर्गत खोप लगाउन बाँकी रहेका नागरिकलाई घरघरमा पुगेर लगाइरहेका छौं,’ उनले भने । घरमै कोभिडविरुद्धको खोप लगाउन पाएपछि स्थानीय पनि खुसी भएका छन् । कामको व्यस्तता तथा भीडभाडमा जान डराउनेहरूका साथसाथै ज्येष्ठ नागरिकहरूलाई यो अभियानले सहज भएको छ । ‘घरमै खोप लगाउन पाउँदा निकै खुसी लाग्यो,’ ७२ वर्षीया फूलमाया ब्लोनले भनिन् ।

नगरपालिकाका कोभिड फोकल पर्सन रामबाबु चौधरीले हालसम्म हरिवनका ७४ प्रतिशत नागरिकले दोस्रो डोज खोप लगाइसकिएको जानकारी दिए । उनले हाल छुटेका नागरिकलाई खोज र खोप अभियान चलिरहेको बताए । उनका अनुसार माघको अन्तिम सातासम्म पालिकालाई पूर्ण खोप घोषणा गर्ने लक्ष्य छ । आइतबारदेखि बुस्टर मात्रासमेत दिन थालिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?