काठमाडौँ, २५ पौष । नेपाल आयल निगमले रिक्त रहेको कार्यकारी निर्देशक पदमा आवेदन माग गरेको छ ।
सुरेन्द्र पौडेल ३ वर्षे कार्यकाल पुरा गरी गत बिहीबारदेखि निगमबाट बाहिरिएसँगै पद रिक्त रहन गएको हो । एक सूचना जारी गर्दै निगमले योग्यता पुगेका नेपाली नागरिकबाट २१ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।
कार्यकारी निर्देशकका लागि प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानूनमा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको तथा कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा ५ वर्षको कार्यअनुभव हुनुपर्नेछ । ३५ वर्ष पुरा भई ६५ उमेर ननाघेको व्यक्तिले आवेदन दिन सक्ने छन् ।
आवेदन दिँदा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपी, वैयक्तिक विवरण र दुई प्रति पासपोर्ट साइजको फोटो तथा व्यवसायिक कार्ययोजना छुट्टै खाममा सिलबन्दी गरी मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा दरखास्तका साथ पेश गर्नुपर्नेछ । दरखास्तका साथ ५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।




