यतिखेर बजार मूल्य अनियमितताको मारमा सर्वसाधारण जनता परेका छन् । यतिखेर दैनिक उपभोग्य वस्तु र यातायातमा चरम मूल्य अभिवृद्धिको अनियमितता देखिएको हो ।
दैनिक उपभोग्य वस्तु अन्तर्गत तरकारीको मूल्य पछिल्ला तीन महिनामा पाँच सय प्रतिशतसम्म वृद्धि भएको छ । खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक सय २५ रुपैयाँ बढेको छ भने सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा वृद्धि गरिएको छ ।
उत्पादन घटेका कारण तरकारी तथा फलफूलमा महँगी बढेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दाबी छ भने खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनुमा अन्तर्राष्ट्रिय कारण देखाएको छ । त्यस्तै, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सार्वजनिक सवारी र हवाई भाडादर वृद्धि भएको बताएको छ ।
कुनै पनि बाहानामा गरिएको चर्को मूल्यवृद्धिको सबैभन्दा ठूलो मारमा भने उपभोक्ता परेका छन् । सर्वत्र मूल्यवृद्धि हुनुमा सरकारी संयन्त्रको दोष रहेको उपभोक्ताकर्मी बताउँछन् । ‘सरकारको कुनै संयन्त्रले मूल्य नियन्त्रणका लागि पहल गरेका छैनन्, । मूल्य नियन्त्रणका लागि गठित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग दसैँअघिबाट नेतृत्वविहीन छ । यद्यपि, विभागले दैनिक दुई–तीनवटा टोली पठाएर बजार अनुगमन गरी मूल्यसूची सङ्कलन गर्ने, कैफियत भेटिएकालाई सामान्य जरिवाना गर्ने काम गरेर औपचारिकता पुरा गरिरहेको छ ।
सरकारी गैरजिम्मेवारीपन, पद्धति विहिनता र लाचारी विरुद्ध चारैतिरबाट चर्को आलोचनाको बिच नियमनकारी निकाय भन्छ– सस्तो गर भन्न सक्दैनौँ ।




