
– रसिक किरात
यतिखेर हामी दसैँको सम्मुखमा छौँ । नेपालीहरूको यस महान् चाडमा उल्लास र चिन्ता मिश्रित अभिव्यक्तिहरू जत्रतत्र सुन्ने गर्छौँ । एकातिर वर्ष दिने चाड रमाइलो गरी मनाउनु पर्छ भन्ने गरेको सुन्छौँ भने अर्कोतिर दसैँ होइन दशा आइरहेको छ भन्ने सुनिरहेका हुन्छौँ । जे होस्, दसैँँ हामी सबैको बिचको एकता, हर्ष, खुसी र सुखद जीवनको शुभ आशिषमय शुभारम्भ हो र हुनुपर्दछ ।
परापुर्वकालदेखि दसैँ जुन रूपमा मानिँदै आइएको छ, यसलाई समयअनुसारको सम्यक चिन्तन र अभ्यास मार्फत रूपान्तरण गर्दै जानु पर्ने खाँचो भने पक्कै छ । हामीले हर्ष, खुसी र दीर्घायुको प्रतीकको रूपमा मान्दै आएको बडा दसैँमा धेरै थरी विकारहरू मिसिएका भने पक्कै छन् । यो विशेष चाडलाई आजको सन्दर्भमा परिमार्जित गर्दै लैजानु पर्ने आवश्यकता भने पक्कै छ ।
दसैँका राम्रा पक्ष
- टाढा टाढाबाट परिवार जन, इष्टमित्र र पाहुना आउने ।
- सारा दुःख, तनाव र सास्ती भुलिने ।
- धनी–गरिब, उँचो–नीच सबै समानतामा बदलिने, सद्भाव र भाइचाराको विकास हुने ।
- सम्बन्धमा नयाँ आयाम थपिने ।
- मनोवैज्ञानिक हिसाबले हेर्दा चाडबाडले विभिन्न खाले मानसिक रोगको निदान हुने ।
- धर्म र संस्कृतिको जगेर्ना हुने ।
- आनन्द, मनोरञ्जन र खुसीमा अभिबृद्घि हुने आदि ।
मिथक भित्रको मिथक
दसैँ कसरी सुरु भयो भन्ने सन्दर्भमा एकभन्दा बढी मिथक छन् र अझ मिथक भित्र पनि मिथक बनाइएका छन् । एकातिर दुर्गा माताले महिषासुर दानवको नाश गरी प्राप्त विजयको उपलक्ष्यको अवसरमा दसैँ मान्ने चलन सुरु भयो भनिन्छ भने अर्कोतिर क्षेत्रीय वंशी रामले ब्राह्मण वंशी राक्षस राजा रावणमाथि विजय प्राप्त गरेको विजयोत्सव स्वरूप दसैँ मान्न सुरु गरिएको भन्ने शास्त्रीय व्याख्या छ । यो कुरालाई भने तोडमरोड गरेर डरलाग्दो गरी अपव्याख्या गरिएको पनि पाइन्छ । जसअनुसार रावणलाई नेपाली जनजातिसँग जोडेर आर्यहरूले जनजातिहरूमाथि विजय प्राप्त गरेको हर्षोल्लास स्वरूप दसैँ मनाउन सुरु गरिएको भन्ने भ्रम फिँजाइएको पाइन्छ । यसरी एकातिर दसैँलाई एकताको महान् चाड भनी रहेका हुन्छौँ भने अर्कोतिर खण्डित र साम्प्रदायिक चौघेराले घेरेर सीमित सम्प्रदायको प्यावा रहेको हौवा यदाकदा फैलाउँछौँ । यस्तै व्याख्याको पछि लागेर कतिपय जनजातिले दसैँ बहिष्कार गरेका पनि पाउँछौ । दसैँ सम्बन्धि यस्ता अनगिन्ती विरोधाभासहरू छन् जसमध्ये केही तल दिइएका छन् ।

दसैँ सम्बन्धि दश रोचक विरोधाभास(प्याराडक्स)हरू
- हिन्दु धर्मको सार मानिने गीतामा कृष्णले अर्जुनलाई सात्त्विक (अहिंसात्मक) भोजनको पर्याप्त ज्ञान दिन्छन् (यही भोजन हो जसले शासन, प्रशासन र न्याय उच्चस्तरको हुन्छ) अनि, उही ‘हिन्दुहरूको महान् चाड’मा जाँड, रक्सीजन्य वस्तु र रगतको खोलो बग्छ ।
- प्राय श्रीमतीहरू जाँड रक्सी बनाउने, श्रीमानलाई मताउने र घुमाइ फिराइ उही श्रीमान् मार्फत आफैँलाई सताउने कार्य दसैँमा पनि सम्पन्न हुने गरेको पाइन्छ ।
- प्रमुख संस्कृतिको घोतक जहाँ अरू बेलाभन्दा सक्दो बढी अनियन्त्रित रूपमा जुवा, तास, लङुगरबुर्जा, धूम्रपान, झैझगडा लगायतका विकृतिजन्य कार्य गरेर मनाइन्छ ।
- मिथक अनुसार असुरको हत्या गरेर विजयोत्सव मनाउन सुरु भएको तर वास्तविक जीवनमा चाहिँ पुरै निर्दोष जीवको आम हत्या गरेर रमाउँदै मनाउँदै आइएको छ ।
- सुस्वास्थ्य र दीर्घायुको कामना गरेर मनाइने तर काम चाहिँ स्वास्थ्य बिगारेर आयु सिद्ध्याउने भद्दा खालको हुने गरेको पाइन्छ ।
- दसैँ, सबैभन्दा ठुलो धार्मिक पर्व जुन सबैभन्दा ठुलो अधार्मिक कर्म गरेर मनाइन्छ ।
- बलीले छुट्ने हजारौँ निरीह जीवहरूको आँसु र रगतको भुल्काबाट देवी देवताका हाँसोको गद् गद् र खुसीको घाम झुल्कने विश्वास गरिन्छ ।
- पाहुनालाई चुरोट, जाँडरक्सी, मासुमंश लगायतका हानिकारक चिजहरू सक्दो धेरै टक्र्याएर कल्याणको कामना गरिन्छ ।
- बलिमार्फत रगतको मूल फुटाएर शान्तिको मूल फुटोस् भन्ने कामना गरिन्छ ।
- वर्षभरी दया, माया देखाएर खानेकुरा ख्वाएर पालिएका जनावरको नृशंस वध गरेर तिनैको परिकार बनाएर खाइन्छ ।
एवम् रितले, हाम्रो आफ्नै आँखा अगाडी निर्दाेष जीवको बलि हुन्छ, रगत पोखिन्छ, त्यो बिचरा जीव फट्फटाउँछ अनि मर्छ । भनिन्छ कि त्यो निर्दोष थुमाको रगत देवी देवताले खान्छन् र खुसी हुन्छन् । यसमा कसैले शङ्का गर्दैन । आँखाले प्रत्यक्ष देखिएको कुरालाई हेर्दाहेर्दै भ्रमले छोप्छ र आँखा चिम्लेर विश्वास गर्छ मान्छे चाहे ऊ जतिसुकै विद्घान किन नहोस्, चिन्तक या विश्लेषक किन नहोस् । कुनै अवस्थामा आँखाले पनि झुक्क्याउला तर यहाँ आँखाले निर्दोष जीवको रगत बगेको देख्नु, फट्फटाएको देख्नु, र बाँच्न चाहँदा चाहँदै मृत्युवरण गरेको देख्नु भ्रम पक्कै होइन । विश्वास भन्ने कुरा पनि बडो गजबको हुँदो रहेछ ! दसैँसँग दशा त पक्कै आउँछ, लाखौँ करोडौँ निर्दोष प्राणीको । सबै धर्मले भन्छ– प्राणीमाथि दया, माया, करुणा र सद्भाव विकास गर्नुपर्छ । तर के यही हो त दया, माया, करुणा र सद्भाव??? भन्छौँ, ‘अहिंसा परमो धर्म’ अनि गर्छौँ धर्मको नाममा हत्या हिंसा । हत्या हिंसा धर्म हो भने पाप चाहिँ के हो? प्रकृतिले भनिरहेको छ जस्तो लाग्छ– तँ मानिस सबैलाई असुरक्षित बनाएर आफू कसरी सुरक्षित हुँदो रहेछस्, हेर्छु म पनि !
पत्थर पुज्न बगैँचामा फूलको हत्या हुँदै थियो
कठोर त्यो मन हाँसेपनि यो मन भने रुँदै थियो ।
दसैँ जहाँ हिसाब किताब राख्न नसकिने निहत्था जीवहरूको घोर हत्या हुन्छ । त्यो हत्या हिंसाको एउटा सानो चित्रको बारेमा कसैले कविता लेख्यो भने समालोचक जनले भन्ने छन्– यस्तो बीभत्स दृष्यको बारेमा कविता लेख्न पाइँदैन भलै ती समालोचक जनका चेहरा खुसीले विस्फारित हुन त्यस्तै प्रक्रियाबाट प्राप्त परिकार चाहिएला, त्यो बेग्लै कुरा हो तर जुन दृश्य उतार्न र लेख्न समेत वर्जित छ, त्यस्तो जघन्य दृश्य देखिने काम त हामी कति हो कति गर्दै आइरहेका छौँ, सदियौँदेखि, सहज ढङ्गले, अनवरत ।

दसैँ कस्तो होस्?
- दसैँ भन्नासाथ सबै नेपालीलाई गर्व होस्, दसैँको नाममा कसैलाई दर्द नहोस्, यो साँच्चैको पर्व होस् ।
- दसैँ मनाउने नाममा जुवातासले वनवास नहोस् ।
- वर्षभरिको कमाइ दसैँमा झ्वाम्मै नहोस् ।
- देखा सिकी होइन गच्छे अनुसारको टिकाटिकी होस् ।
- मिल्छ भने निर्दोष प्राणी पनि मानिससँगै रमाएर जिऊन्, तिनले पनि निधारमा दहीसँगै भाग्य जमाऊन् ।
- दसैँमा धाकधक्कु र रवाफ होइन, भाइचारा र सद्भावको बढोत्तरी होस् ।
- दसैँ हाँसो लिएर आएर आँसु दिएर बिदा नहोस् ।
- यसलाई हिन्दुहरूको मात्र चाड नभनौँ, नेपालीहरूको साझा र मौलिक महान् चाड भनौँ ।
- दसैँको लागि काढेको ऋणले छाला नकाढियोस् ।
- दसैँ असत् अन्याय माथिको विजय स्वरूप मनाउन सुरु गरेको भनेर मात्र व्याख्या गरौँ, सामाजिक सद्भाव भड्काउने हिसाबले व्याख्या नगरौँ ।

दसैँ मनाउँदा त असङ्ख्य निर्दोष पशुप्राणी र पंक्षीको होइन कि आफूभित्रको दोषको नाश गरौँ, राक्षसीपनको विनाश गरौँ । नयाँ शैली, नयाँ समाज र नयाँ सभ्यताको सुरुवात गरौँ । दसैँमा लत्ता कपडा मात्रै होइन जिन्दगीका तमाम लफडाहरूलाई खुसीयालीमा फेर्ने प्रण गरौँ; मन फेरौँ, जीवन फेरौँ । त्यसैले दसैँ जहिल्यै यस्तो नहोस्ः
लुगा फेरिन्छ विचार उही
टिभी फेरिन्छ समाचार उही ।
अन्त्यमा, हामीले भनेजस्तै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र भातृत्वपूर्ण सह–अस्तित्वको जग होस् दसैँ । साम्प्रदायिक नभएर सबैको मौलिक साझा सामाजिक चाड होस् दसैँ । अझै म त भन्छु, सर्वश्रेष्ठ प्राणीले ती निर्दोष तल्लो दर्जाका भनिएका प्राणीको पनि उल्लास र खुसीको दिन ल्याउन सघाओस् । अझ वास्तविक सद्भाव, सहिष्णुता, भातृत्व, र सहअस्तित्व त त्यो पो हुनेछ ।
(लेखक विभिन्न विधामा कलम चलाउँछन् भने विविध पत्रपत्रिका र अनलाइन मिडियाका प्रधान सम्पादक हुन् ।)



