काठमाडौँ, २७ साउन । नेपाली कम्युनिस्ट पार्टीका सांसद सुरेश आलेमगरले सरकारले ल्याउन लागेका कतिपय कानुनहरूले सङ्घीयताको मर्ममा प्रहार गरिरहेको भन्दै आपत्ति जनाएका छन् । बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद मगरले खानी तथा खनिज पदार्थ सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकले स्थानीय तहको अधिकार खोस्न खोजेको बताए ।
सांसद मगरले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले ढुङ्गा, गिट्टी, बालुवा, माटो र स्लेट जस्ता सामग्रीको व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएको स्मरण गराए । तर, अहिले सरकारले ल्याउन लागेको नयाँ विधेयकले ती अधिकारहरू कटौती गर्ने र स्थानीय तहको आम्दानीको स्रोत सुकाउने खेल भइरहेको उनको आरोप छ । ‘सङ्घीय व्यवस्थामा स्रोत र अधिकारको बाँडफाँड स्थानीय तहसम्म हुनुपर्छ, तर यो सरकारले स्थानीय तहको अधिकार कटौती गरेर सङ्घीयतामाथि धावा बोल्दैछ,’ उनले भने ।




