काठमाडौँ । देशका प्रमुख नदीहरूमा जल सतह बढ्दै गएको छ भने मध्ये र पश्चिम नेपालका धेरैजसो जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम देखिएको छ । बाढी पूर्वानुमान महाशाखाले असोज १० गते बिहान जारी गरेको बुलेटिनअनुसार कोसी, नारायणी र यी नदीका सहायक नदीहरूमा जल सतह सतर्कता तहभन्दा माथि पुगेको छ।
यसैगरी बागमती, पश्चिम राप्ती, बबई र यिनका सहायक नदीहरूको बहाव पनि सतर्कता तहको नजिक पुगेको छ। पूर्वानुमानअनुसार शनिबार कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, बाणगङ्गा, पश्चिम राप्ती र बबई बेसिनका सबैजसो मापन केन्द्रहरूमा जल सतह उल्लेख्य रूपमा बढ्नेछ। महाशाखाका अनुसार प्रमुख नदीहरूमा जल सतह बढ्ने यो क्रम आगामी एक–दुई दिनसम्म निरन्तर रहने सम्भावना छ।
आज विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका स–साना नदीहरूमा आकस्मिक बाढी आउने उच्च जोखिम रहेको छ। महाशाखाले गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, पूर्वी तथा पश्चिम नवलपरासी, डोल्पा, जाजरकोट, रुपन्देही, कपिलवस्तु, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, मुगु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुम्ला र डडेल्धुरा तथा यस आसपासका जिल्ला भई बहने नदीहरूमा जल सतह उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ। यी क्षेत्रमा उच्च जोखिम रहेका कारण विशेष सावधानी अपनाउन सुझाइएको छ।
यसैगरी देशका अन्य दर्जनौँ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला ९काठमाडौँ, भक्तपुर, ललितपुर० सहित ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, पर्सा, रसुवा, नुवाकोट, धादिङ र चितवनमा मध्यम जोखिम छ।
त्यस्तै, दाङ,अर्घाखाँची, पूर्वी तथा पश्चिम रुकुम, प्युठान, रोल्पा, सल्यान, जुम्ला, कालिकोट, दैलेख, बाजुरा, अछाम, बझाङ, दार्चुला र बैतडी आसपासका जिल्लामा पनि बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।




