काठमाडौँ, २१ असोज । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेस प्रदेशको शिक्षा क्षेत्रका समस्या पहिचान गरी समाधानका उपायसहित मन्त्रालयमा पेस गर्न राजर्षि जनक विश्वविद्यालयलाई निर्देशन दिएका छन्।
बुधवार धनुषामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन्।
हाल शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै उनले मधेसको शिक्षा क्षेत्रमा रहेका समस्या खोज तथा अध्ययनमार्फत पहिचान गर्न विश्वविद्यालयलाई आग्रह गरे। विश्वविद्यालयहरू पढ्ने र पढाउने काममा मात्र सीमित नभई सम्बन्धित क्षेत्रका समस्या पहिचानका लागि अध्ययन तथा अनुसन्धानमा लाग्नुपर्नेमा उनले जोड दिए। मधेस प्रदेशमा शिक्षाको गुणस्तर सुधारका लागि सरकार गम्भीरताका साथ लागिपरेको उनको भनाइ छ।




