काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेका उद्योगहरूको बाँकी प्रिमियम महसुल तत्काल असुल गर्न सरकारसँग माग गरेका छन् ।
घिसिङले सुशासनलाई पहिलो वर्षको मुख्य प्रतिबद्धता बनाएको सरकारले उद्योगहरूको अर्बौं रुपैयाँ बक्यौता असुलीमा मौन बसेको भन्दै प्रश्न उठाएका छन् ।
उनले लोडसेडिङको समयमा विशेष सुविधा लिएर विद्युत् उपभोग गरेका उद्योगमध्ये पहिलो किस्ता बुझाइसकेकाबाट बाँकी रकम उठाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले प्रभावकारी पहल नगरेको आरोप लगाए ।
घिसिङले विगतमा राजनीतिक हस्तक्षेपका कारण बक्यौता असुली प्रभावित भएको भए पनि अहिले करिब दुईतिहाइ बहुमतको सरकार रहेकाले कानुनअनुसार बक्यौता उठाउन कुनै बाधा नरहेको बताएका छन् ।




