काठमाडौँ, ८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई जनअपेक्षाअनुसार काम गर्न निरन्तर खबरदारी गरिरहेको बताएका छन्। उनले प्रतिपक्षको भूमिका विरोधका लागि विरोध गर्ने नभई सरकारलाई उत्तरदायी बनाउने र जनताप्रति गरिएका प्रतिबद्धता पूरा गर्न सचेत गराउने भएको स्पष्ट पारे।
सोमबार इलाम नगरपालिकाको नगरसभामा बोल्दै नेता आङ्देम्बेले संसदभित्र प्रतिपक्षीले उठाएका विषयहरू जनताकै आवाज भएको पनि दाबी गरे। किसानहरू विभिन्न समस्याबाट पीडित भइरहेका बेला राज्यले अपेक्षाअनुसार संवेदनशीलता नदेखाएको उनको भनाइ थियो।
‘देशमा जसरी किसानहरू प्रताडित भइरहेका छन्, यसले हाम्रो अर्थतन्त्रलाई गम्भीर मोडमा पुर्याइरहेको छ । त्यसप्रति अहिले पनि राष्ट्र संवेदनशील भइरहेको छैन भन्ने अनुभूति हामीले गरिरहेका छौँ’ आङ्देम्बेले भने।




