काठमाडौँ, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र परिणामलाई बदर गरेसँगै उत्पन्न विवाद उत्कर्षमा पुगेको छ । अधिवेशनबाट निर्वाचित कार्य समिति नै भङ्ग भएपछि आन्तरिक विवाद उत्कर्षमा पुगेको हो ।
आयोगको आइतबार बसेको बैठकले उक्त अधिवेशनका क्रममा भएका प्रक्रियाहरू विधान र कार्यविधि विपरीत भएको ठहर गर्दै खारेज गर्ने निर्णय गरेको हो।आयोगका अनुसार जिल्लाका उम्मेदवार र सदस्यहरूले दिएको सप्रमाण उजुरीका आधारमा अध्ययन गर्दा निर्वाचनमा गम्भीर त्रुटिहरू भेटिएको बताएको छ ।
निर्वाचित कार्य समितिका पदाधिकारीले चुनावी प्रतिस्पर्धामा सभापतिका दाबेदार रहेका महेश चौधरी र हरि रेग्मीको दबाबमा निर्वाचन प्रक्रिया बदर गरिएको आरोप लगाएका छन्।
सबै निर्वाचन क्षेत्र र पालिकाका पदाधिकारीले संयुक्त रूपमा हस्ताक्षर गरी केन्द्रमा पत्र पठाउने तयारीमा रहेको सचिव जोशीले बताए ।
अधिवेशनबाट कवीन्द्र ठकुल्लाको नेतृत्वमा १० सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको थियो।




