काठमाडौँ, जेष्ठ २३ । पूर्वगृहमन्त्री एवं रास्वपाका सांसद सुधन गुरुङको सम्पत्ति छानबिन गर्न गठित समितिले शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रतिवेदन बुझाएको छ ।
समितिका संयोजक भण्डारीले प्रतिवेदनमा पूर्वमन्त्री गुरुङको सम्पत्ति, उनको आम्दानीको स्रोत र ऋणका विषयमा छानबिन गरेर प्रतिवेदन तयार गरि प्रधानमन्त्रीलाई बुझाइएको बताए । उनका अनुसार समितिले सम्पत्तिका हकमा निर्वाचन आयोगमा २१ फागुनको निर्वाचनअघि बुझाएको सम्पत्ति र गृहमन्त्री भएपछि सार्वजनिक भएको सम्पत्तिको पनि तुलना गरिएको छ ।
समितिका एक सदस्यका अनुसार गुरुङको जग्गा अस्वाभाविक नदेखिएको र अन्य सम्पत्तिको पनि अस्वाभाविक रूपमा स्रोत नै नखुल्ने भन्न मिल्ने नपाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । विवादास्पद व्यवसायी दीपक भट्टसँग प्रत्यक्ष सम्बन्ध पुष्टि हुन नसकेको र उनीहरूबीच आर्थिक कारोबार भएको कुनै बैंकिङ विवरण नदेखिएको पनि प्रतिवेदनमा लेखिएको छ । तत्कालीन गृहमन्त्री गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत खोजी गर्नुपर्ने आवाज उठिरहेका बेला विवादास्पद व्यवसायी भट्टसँग उनको सम्बन्धलाई लिएर आलोचना भएको थियो । सार्वजनिक टीकाटिप्पणी बढेपछि गुरुङले ९ वैशाखमा गृहमन्त्रीबाट राजीनामा दिएका थिए । करिब तीन सातापछि २८ वैशाखमा मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए ।




