काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको लागि कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको तयारीका लागि विभिन्न चरणका कामहरूको समयसीमा निर्धारण गरेको हो ।
स्वीकृत कार्यतालिकामा ७७ वटा जिल्ला र ७ वटै प्रदेशमा निर्वाचन समिति गठनदेखि लिएर महाधिवेशन प्रतिनिधिको नामावली संकलनसम्मका कामहरू समेटिएका छन् ।
जिल्ला तथा ७ प्रदेशमा निर्वाचन समिति गठन गर्ने कार्य जेठ ७ गतेदेखि सुरू भई जेठ १५ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ । त्यसैगरी, आधिकारिक परिपत्र तथा माइन्युट प्रतिलिपि पठाउने कार्य जेठ १० सम्म र स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गर्ने कार्य जेठ २० गतेसम्मका लागि तोकिएको छ ।
जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गर्ने अन्तिम मिति जेठ ३० गते र महाधिवेशन प्रतिनिधिको नामावली पेश गर्ने मिति जेठ २५ गतेसम्म निर्धारण गरिएको छ । यस्तै, प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको विवरण असार ५ गतेभित्र बुझाइसक्नुपर्ने सूचनामा उल्लेख छ ।




