काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकार गठन भएको छोटो अवधिमा गरिएको नवीनतम कार्यबाट जनतामा आशा जगाएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)लिखु गाउँपालिकाको प्रथम अधिवेशनलाई आज लिखु–६ छहरेमा सम्बोधन गर्दै मन्त्री डा तिमिल्सिनाले देश र जनतालाई हितमा राखेर सरकारले गरेका कार्यबाट सरकारी सेवा र सामाजिक न्यायको क्षेत्रमा भएका सुधारले सकारात्मक प्रभाव पैदा हुँदै आएको बताएका हुन् ।
“जनताको अभिमतबाट काम गर्न प्राप्त जिम्मेवारीमा अहिलेको सरकारले इमान्दार भएर जनतालाई केन्द्रमा राखेर योजनाबद्ध रुपमा काम गर्दै आएको छ,” उनले भने, “पाँच वर्षका लागि काम गर्न प्राप्त जिम्मेवारीमा सरकारले एक सय दिन, छ महिना, एक वर्ष हुँदै पाँच वर्षमा के–के गर्ने भनेर लक्ष्य लिएको छ । सोही लक्ष्य पूरा गर्दै अघि बढ्ने भएकाले पाँच वर्षमा जनताले महसुस गर्ने गरेर मुलुकमा परिवर्तन हुनेछ ।”




