काठमाडौँ, १९ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ ।
मतदानको दिन आउन दुई दिन मात्र बाँकी हुँदासम्म अझै एक तिहाइ उम्मेदवारले खाता खोल्न बाँकी छ । निर्वाचनमा भाग लिएका ६५ दलमध्ये ११ दलले मात्र खाता खोलेका छन् । आजसम्म खाता खोल्ने दलहरूमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिष्ट पार्टी , नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी , संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिए।




